• डा. शेरबहादुर पुन 

केही दिनअघि एउटा परिवारका सबै सदस्यमा खोकी र ज्वरो देखियो। कोरोनाको त्रास सृजना भइहाल्यो। अहिलेको अवस्थामा त्रास देखिनु स्वाभाविक पनि हो। उनीहरुले एक हप्तामा तीन पटकसम्म कोरोना परीक्षण गराए। तर, तीन पटक नै नतिजा नेगेटिभ आयो। मनमा कोरोनाको डर भने यथावत थियो। उनीहरु थप परीक्षणका लागि टेकु अस्पताल पुगे। सबैलाई फ्लू भाइरस पोजिटिभ देखियो।

यस्तै उदाहरण अर्को पनि छ। केही दिनको खोकीपछि ज्वरो आउने, घाँटी दुख्ने, थकित हुने, टाउको दुख्ने समस्या देखिएपछि कोरोनाको आशंका भएछ। लक्षण श्रीमतीलाई मात्र थियो। दम्पती नै परीक्षणका लागि टेकु अस्पताल आइपुगे। श्रीमतीलाई फ्लू बी पोजिटिभ नै देखियो। कोरोना थाहा पाउन गरिएको पीसीआर भने नेगेटिभ देखियो।

यी दुई वटा प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय फ्लू संक्रमित बढ्दै गएका छन्। सन् २०२१ को सुरुवातसँगै फ्लू भाइरस नेपालका विभिन्न ठूला शहरमा देखिन थालेका छन्। यस्तो अवस्था सन् २०२० मा भने थिएन। फ्लू र कोरोनाका लक्षण धेरैजसो एक अर्कासंग मिल्दोजुल्दो हुनु नै मानिसमा डर र त्रास सृजना हुने मुख्य कारण हो।

फ्लू ए र बी भाइरस हरेक सिजन देखिन्छ। एचवान एनवान (स्वाइन फ्लूको नामले चिनिने), एच थ्री (हङकङ फ्लको नामले चिनिने), एचफाइभ एनवान (बर्ड फ्लूको नामले चिनिने) भाइरसहरु फ्लू ए अन्तर्गत पर्ने मुख्य भाइरस हुन्। बर्ड फ्लू मानिसमा संक्रमण गर्न सुरु भएको १० वर्षपछि (सन् २०१९ मा) नेपालमा पहिलो पटक मानिसको मृत्यु भएको थियो। यो नै नेपालको इतिहासमा बर्ड फ्लूको कारणले भएको प्रमाणित मृत्यु थियो।

कोरोनाभन्दा अघिल्लो ‘पेन्डेमिक’को रुपमा स्वाइन फ्लू देखिएको थियो। त्यसपछि यो भाइरस सिजनल फ्लूको रुपमा देखिदै आएको छ। चाखलाग्दो कुरा के छ भने, कोरोना भाइरसको प्रवेशपछी आजको मितिसम्म स्वाइन फ्लू भाइरस देखिएको छैन। तर फ्लु ए अन्तर्गत पर्ने हङकङ फ्लू भने देखिने गरेको छ। हरेक फ्लू सिजनमा हङकङ फ्लू र स्वाइन फ्लू सँगसँगै देखिदै आइरहेका थिए।

कोरोना भाइरसको प्रवेशपछी आजको मितिसम्म स्वाइन फ्लू भाइरस देखिएको छैन। तर फ्लु ए अन्तर्गत पर्ने हङकङ फ्लू भने देखिने गरेको छ। हरेक फ्लू सिजनमा हङकङ फ्लू र स्वाइन फ्लू सँगसँगै देखिदै आइरहेका थिए।

नेपालको फ्लू सिजन फेब्रुअरी–मार्च तथा जुलाई–अगस्ट गरी वर्षमा दुई पटक मानिन्छ। तसर्थ आगामी केही हप्ता फ्लू संक्रमित बढ्दै जाने निश्चित प्राय छ। तर, सबै ठाउँमा यसको परीक्षणको सुविधा नहुँदा यकिन तथ्यांक भने आउने छैन। फ्लू बी भाइरसले पनि कडा लक्षणहरु देखाउने गर्छ। लेखकले विगतमा फ्लू बी भाइरस संक्रमितहरु सिकिस्त भएको देखेको पनि छ। फ्लू बी भाइरसले हालसम्म ‘पेन्डेमिक’को रुप लिएको भने छैन।

फ्लू भाइरसले संक्रमण गरे सामान्यदेखि कडा लक्षणहरु देखिन सक्छ। ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, नाकबाट पानी बग्नु, जीउ दुख्नु, टाउको दुख्नु, थकित हुनु र कसै कसैलाई पखाला लाग्नु यसका मुख्य लक्षण हुन्। सामान्यतया संक्रमण गरेको एकदेखि चार दिनसम्ममा लक्षणहरु देखिन्छन्। बिरामी हुन सुरु भएको तीन चार दिनमा लक्षणहरु कडा हुनसक्छन्। संक्रमितले लक्षण देखिएको एक दिन अगाडि र त्यसपछिको पाँच सात दिनसम्म भाइरसहरु अरुलाई सार्न सक्दछन्।

फ्लूको जटिल अवस्थामा बढीजसो निमोनिया देखिने गर्छ। फ्लू भाइरसले दीर्घरोगी, गर्भवती तथा बालबालिकामा स्वास्थ जटिलता बढी ल्याउँछ। फ्लूविरुद्ध ओसेलटामीभिर नामक एन्टीभाइरल औषधी प्रयोग गरिन्छ। यो लक्षण देखिएको ४८ घण्टाभित्र प्रयोग गर्दा राम्रो नतिजा दिन्छ। अर्थात्, संक्रमितहरुले द्रुत गतिमा स्वास्थ्यलाभ गर्न सक्छन्। फ्लू विरुद्धको खोप पनि उपलब्ध छ। खोपले विशेष गरेर दीर्घ रोगीहरुलाई जटिल अवस्था हुनबाट रोक्ने गर्छ। फ्लू परीक्षणको लागि र्‍यापिड टेष्ट तथा पीसीआर दुवै प्रविधिको प्रयोग गर्ने गरिन्छ। पीसीआर प्रविधिबाट स्वाइन फ्लू (एचवान एनवान), हङकङ फ्लू (एच थ्री) र बर्ड फ्लू (एच फाइभ एनवान) छुट्याउन सकिन्छ। हाल पीसीआर प्रविधि कोरोना भाइरस पत्ता लगाउन प्रयोग हुँदै आइरहेको छ।

माथि उल्लेखित उदाहरणहरुले फ्लूको संक्रमण भए पनि मानिसहरुमा कोरोनाको डर त्रास भएको देखिन्छ। यी दुई भाइरस लक्षणहरुको आधारमा छुट्याउन गाह्रो हुने हुँदा पनि त्यस्तो भएको हो। हाल कोरोनाको त्रास त छँदैछ, फ्लूको संक्रमणले समेत जटिल अवस्था ल्याउन सक्ने वा मृत्यु गराउन सक्ने हुन्छ। तसर्थ फ्लूलाई पूर्णरुपमा बेवास्ता गर्न हुँदैन।

सन् २०२१ देखि नेपालमा फ्लू भाइरसले फेरि ‘कम्ब्याक’ गरिसकेको र फैलँदै गरेको तथ्यांकले देखाउँछ। फ्लू भाइरसको उपचार वा परामर्श कोरोनाको भन्दा फरक हुन्छ। तसर्थ, रुघाखोकी, ज्वरो देखिएर फ्लू र कोरोनामध्ये कुनै एकको टेष्ट गराउनुपर्छ। र, नेगेटिभ देखिए अर्को भाइरसको पनि निदान गर्नुपर्छ।

-डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्

साभारः नेपाललाइभ डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय