जनकपुरधाम- दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ ।
दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।
वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दशैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दशैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।