विशेष रिपोर्ट

छठपछि बालेन सरकारविरुद्ध आन्दोलन चर्काउने तयारीमा मधेसकेन्द्रित दल

नेताहरूका अनुसार अहिले मधेसमा आत्मनिर्णयको अधिकारको मागका विषयमा पनि भित्री तयारी भइरहेको छ। कुनै समय मधेसमा आत्मनिर्णयको अधिकार माग गर्दै आन्दोलन भएको थियो। यसपटक फेरि सो माग चर्काउने उनीहरुको तयारी छ।
छठपछि बालेन सरकारविरुद्ध आन्दोलन चर्काउने तयारीमा मधेसकेन्द्रित दल
23
Shares

काठमाडाैं— दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा गर्ने भन्दै उनीहरु सरकारविरुद्ध उत्रिने भएका हुन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित ८ दल रहेको अग्रगामी मोर्चाले त्यसको नेतृत्व गर्ने भएको छ। यद्यपि, यसमा अन्य राजनीतिक दलले समेत साथ र समर्थन गरिरहेको नेताहरू बताउँछन्। 

आन्दोलनको केन्द्रमा मधेस प्रदेश हुनेछ। जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई छठपछि देखिने, सुनिने र बुझिने बनाउने बताए। 

मोर्चाका प्रवक्ता समेत रहेका राउतका अनुसार दसैँलगत्तै बालेन सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

‘माग सम्बोधन नभए विरोधको कार्यक्रम हुँदै अनि आन्दोलन हुन्छ,’ उनले भने। 

तथापि, उनले विरोध कार्यक्रम काठमाडौँबाट सुरु भएर राष्ट्रव्यापी बनाइने बताए। 

तर, मधेस प्रदेशमा कार्यकर्ता परिचालन, भेला र राजनीतिक संवादलाई तीव्र पारिएको छ। त्यसका लागि संघीयता र प्रदेश अधिकारको मुद्दालाई आधार बनाउने उनीहरूको तयारी देखिन्छ। 

राउतले वर्तमान सरकार राष्ट्रियताप्रति उत्तरदायी नभएको आरोप लगाए। संविधान संशोधनको नाममा सरकारले संविधान खारेज गर्ने कि राजतन्त्र स्थापना गर्ने बहसतर्फ देशलाई लैजाने प्रयास गरेको आरोप लगाए।

‘राष्ट्रियता, स्वाधीनता, संविधानको रक्षा र संघीय संरचनालाई दिएको अधिकारको कार्यान्वयन मुख्य एजेन्डालाई उठाउँदैछौँ,’ राउतले थपे। 

सरकारविरुद्ध गत भदौ २३ गते नै आन्दोलनमा उत्रिने तयारी गरिरहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह जेनजीको आन्दोलन हाइज्याक भएकोले वास्तविक अधिकार प्राप्तिका लागि बृहत् खालको आन्दोलनको तयारी भइरहेको बताउँछन्। 

साहले बालेन सरकार ‘फेक सरकार’ भएको आरोप लगाउँदै बालेन ओली–देउवाकै अर्काे नयाँ भेरियन्ट भएको टिप्पणी गरे।

‘जेनजीहरू अहिले धोकाको सिकार भए, आन्दोलनले रविजी जेलबाट छुट्नुभयो, बालेनजी प्रधानमन्त्री बन्नुभयो, तर पीडितहरूको बेहाल अवस्था छ। मुद्दा जहाँको त्यहीँ रह्यो,’ साहले भने, ‘देशका लागि, जनताका लागि अब एउटा ठूलो धक्का दिनुपर्छ र यो सरकार हटाउनुपर्छ।’

यद्यपि, आन्दोलन कहिले हुन्छ र त्यसको स्वरुप के हुन्छ भन्ने उनले खुलाएनन्। 

‘लोकतन्त्र, देशभक्त पक्षधरहरू, सुशासनका पक्षधर सबै एकै ठाउँमा आउनैपर्छ। त्यसकै लागि अग्रगामी मोर्चा बनाएका छौँ,’ आजपा अध्यक्ष साहले थपे, ‘यसमा जेनजी अभियन्ता पनि छन्। बुद्धिजीवी पनि छन्। त्यो आन्दोलन छठपछि सुरु हुनसक्छ।’

नेताहरूका अनुसार अहिले मधेसमा आत्मनिर्णयको अधिकारको मागका विषयमा पनि भित्री तयारी भइरहेको छ। कुनै समय मधेसमा आत्मनिर्णयको अधिकार माग गर्दै आन्दोलन भएको थियो। यसपटक फेरि सो माग चर्काउने उनीहरुको तयारी छ।

उपेन्द्र यादवले चाडपर्वपछि संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरिसकेका छन्।

जनमत अध्यक्ष एवं मोर्चाका प्रवक्ता राउतले भने–‘संविधानले दिएको अधिकार पनि प्रदेशलाई हस्तान्तरण गरिएको छैन। प्रदेशलाई स्वायत्तता दिनुपर्छ। प्रदेशलाई आफ्ना कर्मचारी, प्रहरी, बजेटको अधिकार, राजस्व उठाउने अधिकार दिनुपर्छ भन्ने हाम्रो माग हो।’

यसमा अन्य के के विषय उठ्छन् भन्ने यकिन भइसकेको छैन। यसअघि सुनसरीको देवानगन्जको कप्तानगन्जमा हिन्दु र मुस्लिम युवाहरूबिच भएको विवादले उग्ररुप लिँदा प्रहरीले गोली चलाएको थियो। जसको असर सप्तरी र सिरहासम्म फैलिँदा चार जानाले ज्यान गुमाएका थिए। 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर

Skip