जनकपुरधाम— रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचका कारण मधेस प्रदेशमा रगतको अभाव देखिन थालेको छ। मधेस प्रदेशमा रगतको अभाव देखिएपछि आज जनकपुरधाममा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम, उपमहानगरपालिका वडा नं १७ ले आज रक्तसञ्चार केन्द्रको समन्वयमा खुला रक्तदान कार्यक्रमको आयोजन गरेको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको उक्त खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गर्नुभएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
रास्वपा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख अम्बुप्रसाद साहले सङ्कलन भएको रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रमा बुझाइने बताए। नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोले एक सातादेखि रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको जानकारी दिए।
“रक्तसञ्चार केन्द्रमा एक/दुई पोका मात्र रगत छ, तर दैनिक ४०/५० जना बिरामी रगतका लागि आउने गरेका छन्”, अध्यक्ष महतोले भने, “बिरामीहरु जसरी पनि दिनुपर्याे भन्दै आउँछन्, तर रगत नभएपछि समस्या भइरहेको छ ।”
रक्तदाताको अभाव भएपछि मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामअन्तर्गतको प्रदेश रक्तसञ्चार केन्दमा पनि रगतको अभाव हुन थालेको छ ।
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रदेश रक्तसञ्चारमा हाल जम्मा ३० पोका रगत रहेको बताए।










