धनुषा— यसपटक धनुषा क्षेत्र नं १ मा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा बहुपक्षीय बनेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामपल्टन साह उम्मेदवार बनेसँगै यहाँ कांग्रेस कार्यकर्ता र मतदातामा नयाँ उत्साह देखिएको छ । दिवंगत नेता प्रदीप गिरीका अनुयायीका रूपमा चिनिने रामपल्टनले सादगी र निरन्तर राजनीतिक सक्रियतामार्फत मतदातामा भरोसा जगाएको कांग्रेस नेताहरूको दाबी छ ।
चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका रामपल्टन पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । यसअघि निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेता आनन्दप्रसाद ढुंगानाको प्रभाव रहेको यस क्षेत्रमा उनले टिकट पाउन सकेका थिएनन् । गत विशेष महाधिवेशनपछि भने उनलाई उम्मेदवार बनाइएको हो ।




रामपल्टन भन्छन्, “अघिल्लो निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले उम्मेदवार नै उठाउन पाएन । योपटक रूख चिह्नमा मत हाल्न पाउने भएपछि कार्यकर्ता र समर्थक उत्साहित छन् ।” उनले कांग्रेस ‘परिवर्तन भएर आएको’ दाबी गर्दै तटस्थ मतदातासमेत आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।
यद्यपि, कांग्रेसभित्रको आन्तरिक समीकरण उनका लागि चुनौती बन्न सक्छ । विशेष महाधिवेशनका क्रममा देखिएको मतभेद अन्त्य भई एकता कायम रहे मात्र कांग्रेसलाई प्रत्यक्ष लाभ पुग्ने विश्लेषण भइरहेको छ । स्थानीय तहका कांग्रेस नेताहरू भने यसपालि अन्तर्घात नहुने दाबी गर्छन् ।

धनुषा–१ मा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको मिश्रित प्रभाव रहँदै आएको छ । २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद यादव २६ हजार ४१८ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका आनन्दप्रसाद ढुंगाना तेस्रो स्थानमा सीमित भएका थिए । २०७९ मा गठबन्धनको प्रतिस्पर्धामा जसपा नेपालका दीपक कार्की २७ हजार ४३१ मतसहित विजयी भएका थिए भने मातृका दोस्रो स्थानमा रहे ।
यसपालि भने नेकपाका मातृका, जसपा नेपालका कार्की, कांग्रेसका रामपल्टन, एमालेका रामचन्द्र मण्डल र रास्वपाबाट उम्मेदवार बनेका किशोरी साह कमलबीच प्रतिस्पर्धा देखिएको छ । एमालेले प्रदेश प्रमुख पदबाट बाहिरिएका रामचन्द्रलाई उम्मेदवार बनाएको छ भने किशोरी साह कमलले ‘परिवर्तनको लहर’ आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।
रास्वपा उम्मेदवार किशोरी साह कमल भने कर्जा सूचना केन्द्रको चेक बाउन्स तथा निर्माण व्यवसायसम्बन्धी कालोसूचीमा परेको विषय सार्वजनिक भएपछि आलोचनामा परेका छन् । उनले भने आफूमाथि लगाइएका आरोपहरू प्रतिस्पर्धीले फैलाएको दाबी गरेका छन् ।
गठबन्धनविहीन प्रतिस्पर्धा, पुराना अनुहार र नयाँ दाबीका बीच धनुषा–१ मा यसपटक मतदाता निर्णायक बन्ने देखिन्छन् । प्रदीप गिरीको सादगी राजनीतिबाट प्रभावित क्षेत्र मानिने यहाँ रामपल्टनले जगाएको भरोसा मतमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने नै चुनावी परिणामको मुख्य आधार बन्नेछ ।









