काठमाडाैं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल (जसपा नेपालसँग एकताको समझदारी भए पनि औपचारिक रूपमा पार्टी मर्ज भएको छैन) का अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय सभामा उम्मेदवार बन्ने भएका छन् ।

शुक्रबार संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा उक्त कुरा औपचारिक रूपमा बाहिरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच २/२ सीटमा सहकार्य भएको छ भनेर महन्थ ठाकुरले आज बसेको बैठकमा जानकारी गराउनुभएको थियो,’ मोर्चाको बैठकमा सहभागी एक नेताले भने,’ कांग्रेसले २ सीट लिने र जसपालाई २ सीट दिने भनेर समझदारी कायम भएको छ ।’

यसअघि मंगलबार बसेको मोर्चाको बैठकमै लोसपाका नेता मुकेश झाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवारको रूपमा प्रस्ताव गर्दा सर्वेन्द्र नाथ शुक्लले समर्थन गरेका थिए ।

लोसपाका महासचिव मनिष मिश्रले पनि अध्यक्ष ठाकुरको नाम राष्ट्रिय सभाका लागि प्रस्ताव गरिएको स्वीकार गरे ।

‘उहाँको पक्षमा राष्ट्रिय सभाको लागि माहोल बनेको छ । कुन पार्टीसँग सहकार्य गर्ने भन्ने कुरा अहिले तय भइसकेको छैन,’ मिश्रले भने ।​

मोर्चाको मतले मात्र नपुग्ने हुनाले अन्य कुन-कुन दल सँग सहकार्य गर्ने भन्ने विषयमा औपचारिक निर्णय नभएको उनले खुलाए ।

त्यसैगरी, प्रतिनिधिसभामा मोर्चाबीच तालमेल गरेर जाने भएपनि कुन-कुन सिटमा कसरी तालमेल गर्ने भन्ने कुराका लागि मोर्चामा आबद्ध हरेक दलबाट २/२ जनाको कार्यदल बनेको उनले खुलाए ।

उक्त कार्यदलले गृहकार्य गरेर पेश गरेपछि अध्यक्षको तहमा त्यस विषयमा निर्णय लिइने उनले खुलाए ।

ठाकुर कांग्रेसको समर्थनमा महोत्तरी-३ बाट प्रतिनिधि सभा चुनाव जित्दै आएका थिए । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।

आजको बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय सभामा के कसो भएको हो ? भन्ने जिज्ञासा राखेपछि लोसपा अध्यक्ष ठाकुरले उक्त जवाफ दिएका हुन् ।

कांग्रेसलाई किन दिने ? भनेर जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले प्रश्न सोधे पनि त्यसको जवाफ नआएको अर्का एक नेताले बताए ।

लोसपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालबाट पनि राष्ट्रिय सभादेखि प्रतिनिधि सभा चुनावसम्मै सहकार्यका लागि प्रस्ताव आएको जानकारी दिएका थिए ।

‘राष्ट्रिय सभामा हामी कांग्रेससँग सहकार्य गर्ने गरी अघि बढिरहेका छौं,’ यादवको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘तर, नेकपाबाट माधव नेपालजीले पनि सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । हामीले मोर्चामा छलफल गरेर भन्छौं भनेर जवाफ दिएका छौं भन्ने जानकारी उपेन्द्रजीले गराउनुभयो ।’ राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ ।

मोर्चाको आजको बैठकमा प्रतिनिधिसभामा कुन–कुन क्षेत्रमा सहकार्य गर्ने भन्ने कुरा टुंग्याउने गरी कार्यदलले तयारी गर्ने र आगामी बैठकमा प्रस्तुत गरेर निर्णय गर्नेबारे छलफल भएको ती नेताले बताए ।

साभारः लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

Skip