धनुषा— शंकास्पद गतिविधि हुने धनुषाको एक होटलमा युवती मृत फेला परेकी छिन् । मिथिला नगरपालिका–६ ढल्केबरस्थित जुन तारा स्टाप लाइन होटलमा मंगलबार बिहान एक युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१३, मियापाटी घरभई ढल्केवरमा डेरा गरी बस्दै आएकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव भेटिएको हो ।

घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ । प्रहरीले अहिले घटनास्थलमा मुचुल्का गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

उक्त होटलमा शंकास्पद गतिविधि हुने गरेको स्थानीयहरु बताउँछन् । ती होटलमा यौन धन्दा चलाउने गरेको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा बताए । ‘यहाँ होटलको बोर्ड झुण्ड्याएर अबैध काम हुने होटल थुप्रै छन् । प्रहरीप्रशासन महिनावारी उठाएर संरक्षण गरेको छ । यस्ता गतिविधिको अनुगमन गर्ने निकाय छ कि छैनन् भनेर हामीलाई थाहै छैन । थाहा भएजति सबैको मिलोमतो छ,’ ती स्थनीयले भने ‘हामी दिक्क भइसक्यौं ।’

Author

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय