धनुषा— आसन्न प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नं ४ पनि राजनीतिक चासोको केन्द्र बनेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका हेभिवेट उम्मेदवार रहेको यस क्षेत्रमा यसपटक राजनीतिक उल्टफेर हुने करिब निश्चितजस्तै देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेबाट उपमहासचिव रघुवीर महासेठ उम्मेदवार छन् ।
२०७४ र २०७९ सालमा लगातार चुनाव जितेका रघुवीरलाई ह्याट्रिक गर्न सकस पर्ने देखिएको छ । पार्टी नेतृत्वकै सार्वजनिक अभिव्यक्ति र जेन्जी आन्दोलनमा एमाले नेतृत्वकै सरकारले गरेको दमनप्रति मतदाताहरुमा एमालेप्रति आक्रोश देखिएको छ । घरदैलोको क्रममा मतदाताहरुबाट आएको प्रतिक्रियालाई आधार मान्ने हो भने यसक्षेत्रमा आफ्नो पार्टीको अवस्था निकै कमजोर रहेको समीक्षा भएको एमालेका एक नेताले स्वीकार्छन् ।
‘रघुवीरजीले क्षेत्रमा राम्रो काम गरेर देखाउनुभएको छ । नेतृत्वपंक्तिबाट भएको गल्तीकै कारण जनतामा आक्रोश देखिएको हो । जेन्जी आन्दोलनका बेला सरकारको नेतृत्व गरेको हिसाबले अध्यक्षज्यूले जिम्मेवारी लिनुको सट्टा ख्यालठट्टामा लाग्नु भयो । मधेशप्रति गर्नुको अशिष्ट र अभद्र टिप्पणीले प्रदेशभर नै पार्टीलाई क्षति हुने अवस्था देखिएको छ,’ ती नेताले भने ‘निर्वाचनपछि यि सबै विषयमा पार्टीमा गम्भिर समीक्षा हुन्छ ।’
मतदाताहरुको नेपाली कांग्रेसप्रति केही सहानुभूती रहेको पाइएको छ । नेतृत्व बदलिएर आएको भन्दा कार्यकर्ताहरु भरोसा जगाएको देखिएको छ । तथपि तिनीहरु पनि यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने धारण बनाएको देखिन्छ । म २२ बर्षदेखि कांग्रेसको क्रियाशील सदस्य हुँ । पार्टी छोड्दिन । मत चाही परिवर्तन गर्छु,’ नाम उल्लेख नगर्ने शर्तमा लक्ष्मीनियाँ २ का एक मतदाताले भने ‘५ वर्ष नयाँको हातमा मुलुकको जिम्मा दिनुपर्छ । गर्न नसकेनन् भने उनीहरुको पनि चुरीफुरी सकिन्छ । नयाँ भन्नेहरुमाथि जनताले अत्यधिक भरोसा छ ।’
उनीसँगै गफिदैं गरेका अर्का मतदाताले भने एमालेसँग सत्ता साँझेदार गरेका कांग्रेस पनि एमाले जतिकै गल्ती गरेको बताए । यो परिस्थितीको जति जिम्मेवार एमाले छ त्यति भागिदार कांग्रेस पनि हो,’ उनले भने ‘यो पटक परिवर्तनको पक्षमा उभिनुको विकल्प छैन ।’
परिवर्तन रट्ने मतदाताहरुमध्ये अधिकको चाहना घण्टी रहेको पाइएको छ । ती मध्ये अधिकांश मतदातामा यहाँका उम्मेदवारभन्दा पनि बालेन सरकार बनाउने जुनुन रहेको देखिन्छ । हामीले यस क्षेत्रका ४२ मध्ये ३८ वटा वडामा स्थलगत बुझ्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को विजयी माहोल देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको धनुषा ४ मा यसपटक रास्वपा इतिहास रच्ने प्रवल सम्भावना देखिएको छ । अहिलेकै माहोल अनुसार मतदान भए रास्वपा राम्रो मत जित हासिल गर्ने स्थानीय राजनीतिक विश्लेषकहरु बताउँछन् ।
लक्ष्मीनिया १ का शिवकुमार यादवले यसपटक मतदाताको मन परिवर्तन भइरहेको बताए । ‘सबैले यो भनिरहेका छन् कि एकपटक नयाँलाई दिएर हेरौं । नयाँ भनेको बालेन हो । बालेन भनेको नयाँ भिजनको मान्छे हो, काठमाडौंमा राम्रो ग¥यो भने देशैभर राम्रो गर्न सक्छ’, उनले भने ।
शम्भु कुमार मुखियाले पहिलेको नेताले केही नगरेका कारण यसपटक नयाँलाई भोट दिने विचार बनाएको बताए । ‘पुरानोलाई कति दिने ? काम नगरे पनि हामी नमरुन्जेल दिइराख्ने ? यसपटक नयाँलाई दिने हो, उनीहरूले राम्रो गरे भने फेरि दिने, नभए नदिने’, मुखियाले भने ।
धनुषा ४ का सोनु साहले पहिलेको नेताले केही नगरेका कारण यसपटक नयाँलाई दिने बताए । ‘पुरानो नेताले केही काम गरेनन्, यसपटक नयाँलाई भोट दिने सोचाइ बनेको छ । बालेनलाई जितायो भने युवाले केही गर्छ कि भन्ने आश छ’, साहले भने ।
नवलकिशोर ठाकुरले कांग्रेस–एमालेलाई हेरिसकेको सुनाए । ‘यसपटक बालेन दाइलाई दिनुपर्छ भन्ने छ, काठमाडौंमा काम गरेको मान्छेलाई प्रधानमन्त्री बन्न दिऊँ भनेर नयाँलाई भोट दिने विचार बनाएको छु’, ठाकुरले भने ।
लक्ष्मीनगर ४ सहपीका लालबहादुर ठाकुरले युवा जति परिवर्तनको पक्षमा रहेको बताए । ‘७७ जिल्लामा परिवर्तनको आँधी छ, जनताले परिवर्तन भनेको छ । पुराना पार्टीले हाम्रो बालबच्चाको भविष्य नास गरेकाले अब नयाँलाई रोज्नुपर्ने अवस्था आयो’, ठाकुरले भने ।
जगनारायण यादवले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई भोट दिने कुरा चलिरहेको बताए । ‘देशको समस्या समाधानका लागि नेपाली कांग्रेसले जित्नु पर्छ भन्ने जनताको कुरा रहेको छ, नयाँ भनेर मात्र हुँदैन’, उनले भने ।
धनुषा ४ का राजकिशोर यादवले पनि कांग्रेसको चर्चा रहेको बताए । यादवद्वय पूर्वराष्टपति डा. रामवरण यादवको गृहनगरका कांग्रेस कार्यकर्ता हुन् ।
सपहीमा सैलुन चलाउँदै आएका मंगल ठाकुरले यसपटक नयाँलाई भोट दिने बताए । ‘यसपटक घण्टीको चर्चा चलिरहेको छ । हामीले एमाले–कांग्रेस देखिसकेको छ, एकपटक घण्टीमा देख्नु परेको छ’ ठाकुरले भने, ‘हाम्रो आश विश्वास छ कि बालेन आयो भने कुछ विकास गर्छ ।’
सञ्जीवकुमार मण्डलले मान्छेहरूले घण्टीमा दिने भनिरहेका छन् । ‘देश विदेशमा बालेन बालेन भनिरहेका छन्, नयाँलाई दिऊँ कि पुरानालाई मेरो मर्जी’, मण्डलले भने ।
रामचन्द्र साहले नयाँ नयाँ भने पनि आफू एमालेलाई नै भोट दिने पक्षमा रहेको बताए । ‘यहाँ रघुवीर महासेठले राम्रै गर्नुभएको छ । मैले यसपटक पनि उहाँलाई भोट दिने हो’, साहले भने ।
टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका एमडी सामीले जनताले यसपटक परिवर्तन भनिरहेको बताए । ‘देशको अवस्थामा सुधार हुन्छ कि भनेर मान्छेले यसपटक नयाँलाई दिऔं भनिरहेका छन्’, उनले भने ।
गोपालकुमार यादवले देश सुधार्नका लागि नयाँलाई भोट दिने कुरा गरिरहेको बताए । ‘पुरानो दलसँग जनता परेसान भइसकेको छ, पीडित भइसकेको छ । यसपटक बालेनलाई प्रधानमन्त्री बनाउने कुरा गरिरहेका छन्’, उनले भने ।
जनकपुर १९ का हिरालाल यादव मतदाता यसपटक पुराना दलको नाम लिने पक्षमा नरहेको दाबी गर्छन् । ‘जनताले भनिरहेको छ ४० वर्षदेखि भोट दिँदा केही परिवर्तन गरेन, जनतालाई डुबाइदियो, अब चाहिँ नयाँलाई दिनुपर्छ भनिरहेका छन्’, उनले भने ।
पुराना दलले विकास नगरेका कारण यसपटक मतदाताले नयाँ दल रोज्ने भनिरहेको जगदीश ठाकुरले बताए । राजेन्द्र प्रसाद साहले यसपटक मान्छेले बालेन साह भनिरहेको बताए । ‘यहाँ जति नेता थियो कमाएर घर बनायो, जनतालाई त केही गरेन’, साहले भने,‘देउवा, ओली र प्रचण्ड सबैले देश बर्बाद बनाए कुनै काम गरेनन् ।’
विगतमा जसपाको वडा कमिटीको अध्यक्ष भइसकेका राजकुमार यादवले यसपटक नयाँलाई दिने पक्षमा रहेको बताए । ‘मधेशको छोरा बालेनलाई प्रधानमन्त्री बनाएमा देश विकास हुन्छ भन्ने आश छ । हामी सबै यसपटक बालेनको पक्षमा छौं, घण्टी छापमा मोहर लगाउने भनेका छौं’, उनले भने ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार संजय कुमार महतोले पनि युवामुखी मुद्दा उठाउँदै चुनावी बहसलाई नीतिगत सुधारतर्फ मोड्ने प्रयास गरेका छन् । ‘जेन्जी’ को भाष्य, पारदर्शिता र प्रणाली सुधारजस्ता एजेन्डाले सीमित तर प्रभावकारी मत तान्ने सम्भावना देखिन्छ । तर बहुदलीय प्रतिस्पर्धामा मत विभाजनले कसलाई फाइदा पुग्छ भन्ने समीकरण महत्वपूर्ण हुनेछ ।
धनुषा—४ को चुनावी प्रतिस्पर्धा यसपटक स्थानीय विकासको मूल्यांकन, परम्परागत दलबीचको प्रतिष्ठाको लडाइँ, र वैकल्पिक शक्तिप्रति बढ्दो आकर्षण गरी तीन तहमा चलिरहेको देखिन्छ । यो निर्वाचन एमालेका महासेठका लागि साख जोगाउने चुनौती छ भने कांग्रेसका यादवका लागि हारको शृंखला तोड्ने अवसर । उता ‘घण्टी’को प्रभावले दुवैको गणित बिगार्ने सम्भावना बलियो रहेको राजनीतिक मामिलाका जानकारहरु बताउँछन् ।
यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका कृष्णचन्द्र प्रसाद साह, जनमत पार्टीबाट इन्द्रजित कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबाबु साह हलुवाईसहित ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।











