दिवेश कुमार महतो
धनुषा— निर्वाचनको मिति एकदमै नजिकिएको छ । नेताहरुको चर्का स्वर, हल्ला, माइकिङ सुन्ने दिन अब धेरै छैन । किनकि फागुन १८ गते राति १२ बजेपछि प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ भने अबको पाँच दिनपछि लाइनमा लागेर मत दिनैपर्छ।
धनुषा निर्वाचन क्षेत्र नं–४ मा पनि ‘हेभिवेट’ भनिएका नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन्। धनुषा–४ मा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार मुख्य चुनावी मुद्दाका रूपमा उठाइएका छन्। केही उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धि देखाउँदै निरन्तरताको माग गरिरहेका छन् भने नयाँ अनुहारहरूले परिवर्तन र सुशासनको नारासहित मत मागिरहेका छन्।
मतदाताहरू भने यसपटक अझ सचेत देखिन्छन्। उनीहरू भाषणभन्दा पनि कामको मूल्याङ्कन गर्नुपर्ने धारणा राखिरहेका छन्। युवाहरूको सक्रियता, महिलाहरूको सहभागिता र पहिलोपटक मत हाल्न लागेका मतदाताको उत्साहले चुनावलाई थप रोचक बनाएको छ।
धनुषा निर्वाचन क्षेत्र नं –४ मा १३ जना विभिन्न राजनीतिक दल र २४ जना स्वतन्त्र गरी जम्मा ३७ जनाको उम्मेदवारी परेको छ । जसमध्येका अधिकांश स्वतन्त्र उम्मेदवारहरु भने डमी उम्मेदवार का रुपमा देखिएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नं –४ मा नेकपा एमालेबाट पार्टीका उपमहासचिव एवम् पुर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री एवम् पुर्व खानेपानी मन्त्री महेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजकिशोर महतो, जनता समाजवादी पार्टी नेपालका तर्फबाट ई. डा. चन्द्र कृष्ण साह, नेपाली कम्युनिष्ट पार्टीबाट ई. संजय कुमार महतो र जनमत पार्टीबाट ईन्द्रजित यादव उम्मेदवार छन् ।
यादव – महतो समुदायको बाहुल्यता भएतापनि यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका रघुवीर महासेठको पकड बलियो छ । नेकपा एमालेको प्रभावशाली क्षेत्र मानिएको यस भेगमा नेपाली कांग्रेस जित निकाल्न संघर्षरत रहँदै आएको विगतको ईतिहासले देखाउँछ ।
विगतको निर्वाचन अंकगणित हेर्दा
विसं २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका रघुवीर महासेठ २ हजार ५४१ मतान्तरले विजयी भएका थिए । महासेठले २२ हजार ५३२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत पाएका थिए । तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उम्मेदवार महाजन यादवले भने १९ हजार ६६२ मत प्राप्त गरेका थिए । त्यतिबेला नेकपा एमाले तुलनात्मक रूपमा बलियो अवस्थामा थियो । एमालेलाई त्यसबेला नेकपा माओवादीको पनि साथ थियो ।
नेकपा (एमाले) मा लामो समयदेखि चल्दै आएको आन्तरिक कलहका कारण भदौ २, २०७८ मा पार्टी औपचारिक रूपमा विभाजित भई वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको थियो । जसले गर्दा नेकपा एमाले मा ठुलो क्षति हुने सम्भावना देखिएपनि विसं २०७९ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ नै धनुषा –४ बाट पुनः विजय भए । महासेठले यादवलाई १२४ मतको झिनो मतान्तरले पराजित गरेका थिए । महासेठ ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा, महेन्द्र यादवले ३२ हजार ११२ मत पाएका थिए । जबकि महेन्द्र यादव बाम गठबन्धनका साझा उम्मेदवार थिए । तर रघुवीर महासेठ को अगाडी महेन्द्र यादवको बाम गठबन्धन अन्ततः फ्लप भएका थिए । त्यसबेला जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महाजन यादवले ५२१२ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतोले ४३४३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार संजय कुमार यादवले १ हजार १ सय २१ मत प्राप्त गरेका थिए ।
कसको सम्भावना कति छ ?
१. रघुवीर महासेठ ( नेकपा एमाले )
गत वर्षको दुवै निर्वाचनलाई फर्केर हेर्दा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ नै बलियो उम्मेदवार का रुपमा देखिन्छ । नेकपा एमालेका उपमहासचिव रहेका महासेठ थुप्रै पटक मन्त्री र उपप्रधानमन्त्री समेत भईसकेका नेता हुन् । महासेठ आफ्नो क्षेत्रमा एमालेका नेता–कार्यकर्ताहरूलाई एकीकृत गर्नसक्ने नेताका रूपमा मानिन्छन् । उनी आफ्नो क्षेत्रका एमाले नेता–कार्यकर्ताका लागि सर्वस्वीकार्य जस्तै हुन् ।
२०५४ सालमा एमालेको केन्द्रीय कमिटी सदस्य भएका रघुवीर २०५६ मा एमाले विभाजन हुँदा मालेतिर लागेका थिए । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन मालेबाट धनुषा ३ मा एमालेका गंगाराम यादवसँग उनी पराजित भएका थिए । त्यसपछि २०६४ सालको प्रथम संविधान सभा निर्वाचनमा धनुषा ४ बाट उम्मेदवार हुँदा पनि तत्कालीन मधेसी जनअधिकार फोरमका सञ्जय साह (टकला) सँग हारेका थिए । तत्कालीन धनुषा निर्वाचन क्षेत्र नं –५ बाट चुनाव जितेका नेपाली कांग्रेसका डा. रामवरण यादव राष्ट्रपति बनेपछि ,सोही ठाउँबाट महासेठ २०६५ को संविधानसभा उपनिर्वाचनमा जितेर संसदीय राजनीतिमा इन्ट्री गरेका थिए । चुनाव जितेपछि झलनाथ खनाल नेतृत्वको सरकारमा उनी सिँचाइमन्त्री भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने राष्ट्रपतिपुत्र चन्द्रमोहन यादवसँग हार व्यहोर्नु परेको थियो ।
त्यसपछि,उनी २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजय गर्दै विजय भएका थिए । र यसपाली फेरि पनि मुख्य उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।
गत वर्षको प्रतिनिधि सभा निर्वाचनमा रघुवीर महासेठको श्रीमती जुलि महतो महासेठ पनि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन् । उनी फेरि पनि उम्मेदवार का रुपमा धनुषा –३ मा सक्रिय छिन् । महासेठ दम्पति मिलेर धनुषा निर्वाचन क्षेत्र नं ३ र ४ मा आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छन् ।
महासेठ ,एमालेको १०औँ महाधिवेशनबाट सचिवमा निर्वाचित हुदैँ नेकपा एमाले मधेस प्रदेशको इन्चार्ज पनि भएका थिए । २०७४ सालपछि ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए भने २०७९ सालको निर्वाचनमा विजय हुदाँ तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा उनी दोस्रो वरीयतासहित उपप्रधानमन्त्री बनेका थिए । भर्खरै सम्पन्न भएको एमालेको ११औँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित रघुवीरले एमाले मधेस प्रदेशको नेतृत्व सम्हालेका छन् ।
रघुवीर महासेठले जित्दै आएको धनुषा –४ मा ,उनले गरेको विकासको काम, मजबुत संगठनिक पकड ,अनुभव र चुनाव केन्द्रित रणनितकार का रुपमा परिचित छन् । तर, यसपाली भने उनलाई जित्न भनेझैं सजिलो छैन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतबाट मधेसी समुदाय लक्षित टिप्पणीको रफु भर्न रघुवीर र जुलीलाई हम्मेहम्मे परिरहेको छ । ओलीले धनुषा र महोत्तरीलाई फोहर सहरका रूपमा चित्रण गरेको र महेश बस्नेतले “छौरा“ भन्ने शब्दलाई अर्थाएर “कुकुरका छोराहरू“ को संज्ञा दिएको अभिव्यक्ति का कारण रघुवीर महासेठलाई समस्या चुलिएको छ । महासेठ, आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरु सँग भोट माग्ने क्रममा उनलाई मतदाताहरुले त्यहि कसिलो खालका प्रश्नहरू सोध्ने गरेका कारण आम मतदाताहरु रघुवीर वा एमालेलाई भोट नदिने सर्तमा एक ढिक्का भएका छन् । आम मतदाताहरु भने कुन उम्मेदवारलाई जिताउने भन्दा पनि कुन उम्मेदवारलाई हराउने मनसायमा छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अवधिमा
२०८२ भदौं २३ र २४ गते भएको जनेजी आन्दोलनका कारण गाँउघरमा एमालेप्रति को चासो मुर्झाएको छ । त्यस्तै गत निर्वाचनमा नेपाली कांग्रेस छाडेर रघुवीरलाई साथ दिएका लक्ष्मीनिया गाँउपालिका नेता संतोष यादव र मिथिला नगरपालिका का महेश बस्नेत भने नेपाली कांग्रेस फर्किएका छन् ।
एमालेको बलियो पकड मानिँदै आएको धनुषाको उत्तरी क्षेत्रमा पार्टी कमाण्ड सम्हाल्दै आएका स्थानीय नेता महेश बस्नेत चार वर्षपछि पुनः नेपाली कांग्रेसमा फर्किएको र अर्का नेता संतोष यादव नेपाली कांग्रेसलाई जिताउन सक्रिय भएसँगै, यसपाली नेकपा एमालेलाई जित निकाल्न एकदमै सकस देखिन्छ तथापि निर्वाचनको मिति नजिकिएसँगै रघुवीरको चुनावी रणनीतिले अरु दलका मत आफ्नो पोल्टामा पार्न सक्ने अनुभवी राजनितिज्ञ खेलाडी भएकाले धनुषा –४ को चुनावी प्रतिस्पर्धा एकदमै रोमाञ्चक हुने सम्भावना छ ।
२.महेन्द्र यादव (नेपाली कांग्रेस)
उनी यसअघि भएको २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ सँग पराजित भएका थिए । २०७९ सालको निर्वाचनमा लगभग जित सुनिश्चित भईसकेको अवस्था नमिठो हारले समग्र नेपाली कांग्रेसलाई धनुषा –४ मा स्तब्ध बनाई दिएका थिए । उनी त्यसबेला बाम गठबन्धनका साझा उम्मेदवार थिए तथापि १२४ मतको झिनो मतान्तरले उनी हार व्यहोर्न पुगे । यसपाली उनी एक्लै चुनावी मैदानमा छन् ।
महेन्द्र यादव आम चुनावी प्रतिस्पर्धामा असफल खेलाडी मानिन्छन् । धनुषा निर्वाचन क्षेत्र नं ४ मा जातीय बाहुल्य, मजबुत संगठन भएतापनि पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण उनी हार्दै आएको स्थानिय विश्लेषकहरुको भनाई छ ।
गत निर्वाचनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवको असन्तुष्टि सम्बोधन गर्न नसक्दा झिनो मतान्तरले महेन्द्र यादव हारेको कांग्रेसकै नेताहरूको बुझाइ छ । तर यसपटक डा.चन्द्रमोहन यादवलाई समानुपातिकमा मधेसीतर्फ एक नम्बरमा राखिएकाले महेन्द्रलाई अन्तघात हुने सम्भावना कम देखिन्छ । साथै नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको साथ र पार्टी कार्यकर्ताहरुको सक्रियताले चुनावी माहौल कांग्रेस तर्फ मोडिने सम्भावना उत्तिकै छ ।
माघ १६ गते पार्टी सभापति गगन थापालाई आफ्नो निर्वाचन क्षेत्रमा उभ्याएर उनले अन्तरद्वन्द्व मिलेको सन्देश दिने प्रयास गरेका थिए । शेरबहादुर देउवा निकट रहेका यादव भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन को विपक्षमा थिए । उनले धनुषा –४ बाट टिकट पाउने सम्भावना एकदमै कम थियो तर पार्टीले उनलाई नै टिकट थमाउँदा यादव खुशी भएर निर्वाचन क्षेत्र फर्किएका थिए । आम निर्वाचनमा लगातार दुई पटकको हारले मतदाताहरु सहानुभूतिको मत पनि दिने सम्भावना छ ।
२०३५ सालमा कांग्रेसबाट राजनीति थालेका महेन्द्रले १ वर्ष बन्दी र ३ महिना भूमिगत जीवन बिताएका थिए । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षसम्म भएका उनी नेपाल तरुण दलबाट कांग्रेसमा स्थापित भएका हुन् ।
नेपाल तरुण दलको केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएका यादव पार्टीको १२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०६४ र २०७० सालमा भएका संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएका उनी खानेपानीमन्त्री समेत भएका थिए । धनुषा –४ मा नेपाली कांग्रेस भित्रको आन्तरिक मामिला र द्वन्दलाई व्यवस्थापन गरेर अगाडि बढे ,नतिजा काङग्रेसको पोल्टामा पार्ने सम्भावना अधिक देखिन्छ । अन्यथा विगत वर्ष भएको निर्वाचन कै हाल हुने आँकलन गरिएको छ ।
३. राजकिशोर महतो (रास्वपा)
राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दल भएपनि, धनुषा निर्वाचन क्षेत्र नं –४ मा पुरानै उम्मेदवार छन् । रास्वपा का उम्मेदवार राजकिशोर महतो २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम (मशाल छाप) बाट धनुषा –४ ’ख’ तर्फ प्रदेश सभाका उम्मेदवार थिए । उनी त्यसबेला चुनावी प्रतिस्पर्धामा तेस्रो स्थान ल्याएका थिए । त्यस्तै गत स्थानीय तहको निर्वाचनमा बटेश्वर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएर अन्तिममा कांग्रेस उम्मेदवार रामआशिष महतोलाई समर्थन गरेका कारण राजकिशोर महतो आज पनि आलोचित छन् । तर यसपाली उनी फरक अन्दाजमा देखिएका छन् । उनी युवाहरुलाई साथमा लिएर चुनावी सक्रियता बढाएका छन् । जेनजी समुह उमेरका युवाहरु रास्वपा प्रति सकरात्मक देखिएका छन् । काङ्ग्रेस र एमालेको किल्ला मानिएको यस निर्वाचन क्षेत्रमा रास्वपा सरप्राइज दिने मुडमा देखिएका छन्।
आम जनता पार्टीका उम्मेदवार सम्पत महतो कोइरी भने रास्वपा का उम्मेदवार राजकिशोर महतो लाई समर्थन जनाएर उनी सँगै घरदैलोमा व्यस्त छन्। मतदाताहरु रास्वपातिर आकर्षित छन् । जेनजी उमेर समूहका युवाहरु भने रास्वपा पार्टी भन्दा बढी बालेन प्रधानमन्त्री बन्ने भएकाले भोट दिने मुडमा देखिएका छन्। अन्य पार्टीका कार्यकर्ताहरु रास्वपा तिर खुल्न नचाहे पनि भोट दिने मुडमा देखिएका छन्।
रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा बालेन साहलाई अगाडि सारे लगत्तै मधेसमा देखिएको बालेनको क्रेजले रास्वपालाई धनुषा –४ सहित मधेशमा नयाँ उचाइ दिन सक्छ, तर त्यो क्रेज मतमा रूपान्तरण हुन्छ कि हुँदैन, अन्ततः निर्वाचनपछिको अंकगणितले मात्र प्रमाणित गर्नेछ । तर हालको अवस्थामा एमालेको रघुवीर महासेठ आफ्नो साख जोगाउन कम्मर कसेर लागेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई रास्वपाले उलटपुलट गर्ने डर छ ।
४. ई. संजय कुमार महतो (नेकपा)
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी बाट ई. संजय कुमार महतो उम्मेदवार छन् । अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट उदाएका नेता का रुपमा उनी परिचित छन् तर संगठनात्मक किसिमले त्यस क्षेत्रमा पार्टी कमजोर रहेको देखिन्छ । तथापि उनीसँग त्यस क्षेत्रमा पार्टीका अर्का प्रभावशाली नेता एवम् संघिय सरकारका पुर्व राज्यमन्त्री शत्रुधन महतोको साथ छ । संजयसँगै पुर्व राज्यमन्त्रि महतो पनि घरदैलोमा व्यस्त देखिन्छ । संजय, युवा जेनजी समुहको प्रतिनिधित्व गर्ने धनुषा –४ का सबैभन्दा कान्छो उम्मेदवार हुन् । महतो – यादव बहुल्यता रहेको यस निर्वाचन क्षेत्रमा संजयले जातिय समिकरण का कारण पनि मत पाउने देखिन्छ। तथापि एमाले र कांग्रेस को ‘हेभिवेट’ मानिएको यस निर्वाचन क्षेत्रमा नयाँ अनुहार लाई जित्न निकाल्न सकस देखिन्छ।
५. ई.डा.कृष्णचन्द्र साह ( जसपा नेपाल )
जनता समाजवादी पार्टी नेपालको तर्फबाट ई.कृष्णचन्द्र साह उम्मेदवार छन् । उनी यसअघि २०७९ सालको निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टी बाट उम्मेदवार हुँदा २०४ मत ल्याएर सातौँ स्थानमा सीमित भएका थिए । त्यस क्षेत्रमा अन्य उम्मेदवारका हकमा उनी सबैभन्दा बढी शिक्षित र कामकाजको हिसाबले एकदमै अनुभवी उम्मेदवार हुन् तर व्यक्तिगत लोकप्रियता र समाजिक प्रभाव कम देखिन्छ ।
मधेस आन्दोलनको रापताप र माहौल कारण २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जनमत देखिएपनि,२०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका तत्कालीन उम्मेदवार महाजन यादव अपेक्षाकृत भन्दा धेरै कम मत ल्याएका थिए । त्यसकारण जसपाको घट्दो मत र उम्मेदवारको व्यक्तिगत प्रभाव नभएकोले साहलाई चुनौती थपिएको छ ।
त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टी बाट ईन्द्रजित यादव उम्मेदवार छन्। मधेस केन्द्रित राजनितिक दलहरुको माहौल र सक्रियता एकदमै कम रहेको यस निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरू सहित स्वतन्त्र उम्मेदवारहरुलाई जित्न निकाल्न सकस देखिन्छ। यस बाहेक यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट रामबाबु साह हलुवाई र राष्ट्रिय मुक्ति पार्टी बाट महावीर यादव उम्मेदवार छन् । यस निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरू भएपनि तिनिहरुको भुमिका डमी उम्मेदवार का रुपमा मात्र देखिएको छ ।
के छ अवस्था ?
धनुषा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने पाँच वटा पालिका मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयर सहित बहुसङ्ख्यक वडा पनि जितेको छ । एमालेले मिथिला नगरपालिकाको उपमेयर सहित बहुमत वडा जितेको छ । धनुषा –४ मा मिथिला नगरपालिकाको वडा नं.४, क्षिरेश्वरनाथको वडा नं. ८ र ९, मिथिला विहारी नगरपालिकाको १,३,४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९,१३,१४,१९, २१ र २२ गरी पाँच वटा भने यसै क्षेत्रमा पर्दछ ।
यो क्षेत्रमा पर्ने ४२ वडामा पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा अलि कम बढी काँग्रेस र एमालेको शक्ति उस्ता उस्तै देखिन्छ । यद्यपि काँग्रेस पहिलो दलको रुपमा छ । तर पार्टी भित्रको आन्तरिक द्वन्द्व लाई व्यवस्थापन गर्न नसक्दा नेपाली कांग्रेसले आफ्नो पक्षमा नतिजा ल्याउन असफल देखिएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा एमालेका कार्यकर्ताहरु जस्तोसुकै अवस्थामा भएपनि मत एमालेलाई दिने मनस्थितिमा छन् । जेनजी उमेर समूहका युवाहरु भने रास्वपा तिर आकर्षित छन्। विगतमा एमालेलाई मत दिएर दिक्क भईसकेका मतदाताहरु रास्वपातिर आकर्षित छन् । रास्वपा भित्र बालेनको क्रेज र मधेशीपुत्र फ्याक्टरले रास्वपा का उम्मेदवार राजकिशोर महतोलाई मत माग्न सजिलो देखिन्छ र उनको पक्षमा मतदाताहरु एकदमै सकारात्मक देखिएको छ। यता काङ्ग्रेस जित्न निकाल्न प्रयासरत छन् । दुई पटकको नमिठो हारका कारण यसपटक सबै पक्षलाई समेटेर अघि बढ्को देखिन्छ तथापि नतिजा कसको पक्षमा आउने यकिन छैन । मुख्यत: नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठको मुख्य दाबेदारी रहेको यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजकिशोर महतोको चुनौती थपिएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार संजय कुमार महतोले पनि चुनावी सक्रियता बढाए सँगै, धनुषा -४ को चुनावी सरगर्मी बढेको छ ।
निर्वाचन आउन अझै पाँच दिन बाँकी रहेको अवस्थामा चुनावी माहौल र अवस्था कता तर्फ मोडिने यकिन छैन। तथापि धनुषा -४ मा देखिएको त्रिपक्षिय भिडन्तले रोमाञ्चक हुने निश्चित छ ।











