जनकपुरधाम — राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह जेठ २७ गते जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने भएको छ ।
समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण ११५ विद्यार्थीलाई दीक्षित गर्नेछन् ।
समारोह भव्य बनाउन १५ सदस्यीय मूल समिति र १६ वटा उपसमिति गठन गरिएको छ। दीक्षित हुने विद्यार्थीहरूले दुई अभिभावक ल्याउन पाउनेछन् ।
समारोहमा विश्वविद्यालय र संकाय तहमा उत्कृष्ट विद्यार्थीलाई पदक प्रदान गरिनेछ । समारोहअघि कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभाको बैठक बस्नेछ ।
चार संकायअन्तर्गत १३ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालय २०७४ कात्तिक १२ मा स्थापना भएको हो । हाल ५ आङ्गिक क्याम्पस र ६८ सम्बन्धन प्राप्त कलेजहरू छन् ।









