काठमाडाैं— फरवार्ड सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको खेलमा लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो । 

लेबनानको लगातार दोस्रो हारले म्यानमार पनि एक खेल अगावै फाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले नै हराएको थियो । पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको लेबनान दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको हो । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराएको थियो ।  जितसँगै अपराजित रहेका म्यानमार ६ अंकमा शीर्ष र समान अंक भएको नेपाल दोस्रो स्थानमा छ । 

नेपालले अब  लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध खेल्नेछ। सोही दिन लेबनान र किर्गिस्तान भिड्नेछन् । यी दुवै टोली सान्त्वना जितका लागि मैदान उत्रिनेछन् । 

बिहीबार खेलको ४२ औँ मिनेटमा नेपालका लागि साम्बाले गोल गरेकी हुन् । विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेबनानका खेलाडीले क्लियर गरेपनि त्यसकै रिवाउन्डमा साम्बाको प्रहार लेबनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो । 

त्यसपछि नेपालले खेलमा थप गोल गर्ने मौका पाए पनि सदुपयोग भने गर्न सकेन । खेलको इन्ज्युरी समयमा लेबनानकी ज्वाहा अरबीको प्रहार क्रसबारमा लाग्दै फर्कियो । खेलको ५६ औँ मिनेटमा प्रीति राईको फितलो प्रहार लेबनानकी गोलरक्षकको हातमा सहजै पुग्यो । 

५८ औँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको प्रहार क्रसबारको माथिबाट आकासियो । ७३ औँ मिनेटमा विमला चौधरीको कर्नरमा प्रिती राईको प्रहार आकासियो । 

त्यसअघि पहिलो हाफको आठौँ मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाइन् । दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकासियो । तेहौँ मिनेटमा लाला स्कन्दरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो ।

खेलको पन्धौँ मिनेटमा प्रीति राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो । २२ औँ मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार पनि सेकेण्ड बारको नजिकबाट बाहिरिएको थियो । 

निर्णायक गोल गरेकी साम्बा नै आजको खेलको उत्कृष्ट खेलाडी बनिन् । उनले २५ हजार रुपैयाँ नगद प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip