बर्दिवास— चितवनको कृषि मेलामा महोत्तरीको बर्दिवासका विद्यार्थीहरूले स्थानीय परिकारहरूको प्रदर्शनी गरेका छन् ।

बर्दिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरूले स्थानिय रूपमा तयार गरिएका खाद्य परिकारहरूको महत्वलाई उजागर गर्दै तिनमा मूल्य अभिवृद्धि र कृषि व्यवसायको सम्भावनाबारे जानकारी गराएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपालद्वारा आयोजित कृषि मेला तथा किसान प्रदर्शनी २०८१ रामपुर, चितवनमा वन मन्त्रालयका प्रतिनिधि र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको उपस्थितिमा उद्घाटन गरिएको हो ।

१०० भन्दा बढी कृषि स्टलहरू रहेको उक्त मेलामा किसान, विद्यार्थी, कृषि उद्यमी तथा नीति निर्माताहरूका लागि नवीनतम प्रविधिहरू प्रदर्शन गरेका छन् । मेलामा विश्वविद्यालयहरू, विकास कार्यालय, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लगायत विभिन्न क्षेत्रका सहभागीहरू रहेका छन् ।

मधेश प्रदेशबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयका समावेशी क्याम्पसका प्रतिनिधिहरूले मधेशको सांस्कृतिक र परम्परागत खाद्य सामग्रीहरूको विविधता प्रदर्शन गरे । ती परिकारहरूले स्थानीय भण्डारण प्रणाली, दैनिक जीवनमा प्रयोग, पोषण व्यवस्थापन र खाद्य सुरक्षा सुनिश्चित गर्न खेलेको भूमिकाबारे जानकारी गराइएको थियो ।

मधेशी समुदायले परम्परागत रूपमा घरमै तयार गर्ने र आवश्यकताका कठिन समयमा प्रयोग गर्न खेतमा फलेका अन्नबालीको उपयोग गर्ने यी उत्पादनहरू प्रदर्शित गरिएका थिए । प्रदर्शित परिकारहरूमा बिरीया, अमुध, माछा अचार, अधौरी, मस्यौरा, धनौरी, तिल्लौरी लगायतका परम्परागत परिकारहरू रहेका छन् । यी परिकारहरूले सांस्कृतिक मूल्य संरक्षण, सामाजिक र आर्थिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip