छोरी हुँ । छोरी भएकै कारण दाइ-भाइ उठ्नुभन्दा पहिले मिरमिरेमै उठ्नुपर्ने संस्कार मलाई सिकाइएको छ ।

बिहानै उठेर हातमुख धोएसँगै चिया-खाजा पकाउने, दाइ-भाइलाई खाजा दिने, कोठा, आँगनको सरसफाइ गर्ने, आमालाई भान्सामा सघाउने र हतार-हतार खाना खाएर अफिस जाने मेरो दैनिकी नै हो ।

दिनभर म अफिसको काममा जोतिएकी हुन्छु । बेलुकी घर आएर फेरी बिहान झैँ घरकै काममा खटिनुपर्छ । त्यही बीचबाट बचेको समय आफ्नो पढाइका लागि खर्चिन्छु ।

मेरो चाहनाबारे कसैले सोध्दैनन् । तर, मैले परिवारका सदस्यहरूलाई उनीहरूका चाहनाबारे सोधिरहेकी हुन्छु । ती चाहना पूरा गर्ने प्रयास पनि गरिरहेकी हुन्छु । कहिले कुनै सानो गल्ती भयो भने मैले थुप्रै कुरा सुन्नुपर्छ ।

परिवारमा अर्काको घरमा जाने चिजको रूपमा मलाई हेरिन्छ । किन पढ्नु, किन जागिर गर्नु? अर्काको घरमा जाने जात न हो भन्छन् । यस्तो सुन्दा मन कुँडिएर आउँछ ।

मेरा चाहना मृत तुल्य छन् । किनकि म आफ्नो बारेमा सोच्न नै भ्याउँदिन । केरा रहर के हुन् ? ममा के चाहना छन् ? ती कसरी पूरा गर्ने ? म अनविज्ञ तुल्य छु । मेरो दिमागमा एउटै कुरा भरिएको छ । म छोरी हुँ। मैले पाइलै पिच्छे सम्हालिनुपर्छ । बाहिर खुलेर निस्कनु हुँदैन, धेरै पढ्नु हुँदैन, काम गर्नु हुँदैन, यस्तै यस्तै ।

आफ्ना जीवन्त सपना पूरा गर्ने र आजाद पन्छी झैँ खुला आकाशमा पागुर फिँजाएर उड्ने स्वतन्त्रता मलाई छैन । किनकि म छोरी हुँ । मलाई त पिँजडामै कैद भएको हेर्न चाहन्छ हाम्रो पुरुष प्रधान समाज । उनीहरूको रिमोट कन्ट्रोल बस्तु झैँ भएको हेर्न जान्छ । हावाको गति र पानीको वेगलाई कसैले रोक्न सक्दैन भन्ने बुझ्दा बुझ्दै पनि अबुझ नै बनेको छ मेरो जीवन । पीजडाको चरा जस्तै जकडिएको छ ।

मेरो स्वतन्त्रता छेकिएको छ । परिचय मैभित्र सीमित छ । गोठको गोरुलाई केही समय चराउन जंगलमा लगिए पनि पुन: ल्याएर त्यही दाम्लोमा बाँधिन्छ । त्यस्तै भएको छ मेरो जीवन । घरको चार भित्ता मेरो संसार हो। काम गरे पनि स्वतन्त्रता पूर्वक गर्न सकिरहेकी छैन । घडीको सुईमा नाच्नुपर्छ ।

बिदाको दिन पारेर साथीकोमा पढ्न गएकी थिएँ। त्यो घरमा ठूलो चर्चाको विषय बन्यो । म अरूको घर-घर जान थालेँ। मेरो जवानी पलायो, त्यसैले अब म घरमा अडिनै नसक्ने भएँ रे । मेरो उमेर बढ्दै थियो। उमेरसँगै घरमा घोचपेच पनि बढिरहेको थियो । छोरीले यो गर्न हुन्छ, यो गर्नु हुँदैन भन्दै विभिन्न पर्खाल खडा भइरहेका थिए । उमेरसँगै चेतना बढ्यो । तर, स्वतन्त्रता बढेन ।

भित्ताको टेलिभिजनमा किशोरी र महिलामाथि भयाका अपराधका घटनाबारे दिनहुँ समाचार बजिरहेको हुन्थ्यो । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको समाचार बजिरहेको थियो । हत्यारा पत्ता नलागेको वर्षौं भइसकेको थियो । आज पनि पहिचान खुल्न नसकेकी एक युवतिको काठमाडौंमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको समाचार पनि बज्यो । सबैका आँखा टेलिभिजनको पर्दामा भए पनि ध्यान मतर्फ नै केन्द्रित थियो ।

मेरो उमेर बढ्दै थियो । उमेरसँगै घरमा घोचपेच पनि बढिरहेको थियो । छोरीले यो गर्न हुन्छ, यो गर्नु हुँदैन भन्दै विभिन्न पर्खाल खडा भइरहेका थिए । उमेरसँगै चेतना बढ्यो । तर, स्वतन्त्रता बढेन ।

बाले मतर्फ पुर्लुक्क हेरेर भन्नु भयो- छोरी अब तैँले पढाइ छोडिदे । बिहे गर्नुपर्‍यो । समाजमा छोरी चेलीको सुरक्षा नै गर्न गाह्रो भइसक्यो । उहाँको अनुहारमा मप्रतिको प्रेम छचल्किरहेको थियो ।

आज मलाई अफिसबाट आउन ढिला हुन्छ है आमा !

आमाले धेरै बेर सोचिन र भनिन्, ‘हुन्छ । तर, बेलुका तलाई लिन भाइ आउँछ । जुग जवाना राम्रो छैन । तेरै चिन्ताले सताइरहेको हुन्छ ।’

मैले केही भन्न सकिनँ। उहाँको आग्रहमा सहमति जनाउँदै टाउको हल्लाएर अफिस निस्केँ ।

मेरो कसैसँग प्रेम थिएन । म निर्धक्क थिएँ । तर, परिवार निर्धक्क थिएन । परिवारले छोरी यो कपडा लगाऊ, त्यो नलगाऊ भनेर सधैँ मेरो विचारमा हस्तक्षेप गरिरह्यो । ६ बजेभन्दा पछि बाहिर निस्कनै पाइन । घरको आज्ञा मेरा लागि फलामे जन्जिर सरह थियो। निर्देशन भयो त भयो ।

छोटो कपडा लगाएर हिँड्दा छोरी बलात्कृत हुन्छ कि भन्ने पिर छ परिवारमा। मलाई भने त्यो बेकार लाग्थ्यो । आफू बलियो हुनुपर्छ लाग्थ्यो । केही समय पहिले एक जना सारी लगाएकै महिला बलात्कृत भएकी थिइन् । मेरो मनमा विद्रोह थियो, सारीले किन छेक्न सकेन बलात्कार। मलाई छोटो लुगा लगाउँदैमा मात्र बलात्कृत भइँदैन भन्ने प्रमाणित गर्न मन थ्यो । तर, त्यो सहज थिएन । १० वर्षकी नानी बलात्कृत भएको समाचार बाहिरियो । के उनी पनि छोटै लुगा लगाएर बाहिर निस्किएकी थिइन् ।

हामी घर बाहिर मात्र होइन, घरभित्रै पनि असुरक्षित छौं । हामीलाई जन्जिरमा राख्ने होइन । समाजका मानिसको दिमागमा ढक्कन लागेर बसेको अवचेतनको जालो खोल्न मन थियो । छोरीलाई हेर्ने उनीहरूको दृष्टिकोण फेर्न मन थियो ।

मलाई स्वतन्त्रतामा रमाउन मन छ । पखेटा काडेको चरी झैँ निल गगनमा उड्न मन छ । मलाई स्वतन्त्रताको स्वाद पान गर्न मन छ । जुनसुकै अँध्यारो बाटो एक्लै छिचोलेर साहस देखाउन मन छ । २१औं शताब्दीमा छोरीलाई पिजडामा कैद गर्नु कत्तिको जायज हो र ?

केही छोरीहरू खेलाडी, हिरो, डाक्टर, पाइलट, शिक्षकका रूपमा समाजमा उदाएका छन् । अब सबै छोरी चेलीहरूले त्यस्तै हिम्मत राख्नुपर्छ । अब छोराको मात्र भर पर्नु हुँदैन । हामी आफैँ पनि आमाबुवाको सहारा बन्न सक्नुपर्छ । हामी अरूको घर जाने जात त हौं भनेर हेये भावमा बाच्नु हुँदैन । यही सोचले बाले छोरी बिहे गरौं भन्नु भयो। मैले बा तपाईंको शिर स्वाभिमानको सगरमाथा बनाउनु छ भने । र, त्यही यात्रामा छु ।

—डिसी नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip