जनकपुरधाम— मधेस प्रदेश सरकारले ११ कक्षामा पढ्ने छात्राहरूलाई ल्यापटप वितरण गर्ने भएको छ ।

प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत कक्षा ११ मा अध्ययनरत प्रदेशका ८ वटै जिल्लाका छात्राहरूलाई ल्यापटप वितरण गर्ने तयारी गरेको हो । प्रत्येक जिल्लाका एकहजार छात्रालाई ल्यापटप वितरण गरिने योजना रहेको बताइएको छ ।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि २०७८ बनाएको छ । जसअनुसार कक्षा ११ मा अध्ययनरत जेहेन्दार छात्रालाई ल्यापटप दिइनेछ ।

कार्यविधिअनुसार एसईईमा ३.२ भन्दा माथि जिपिए ल्याउने छात्रामध्येबाट उच्च जिपिए ल्याउने छात्रालाई वितरण गरिनेछ । ल्यापटप वितरणसम्बन्धी अन्य व्यवस्था निर्देशक समितिले निर्णय गरेबमोजिम हुने कार्यविधिमा उल्लेख छ ।

तर, कक्षा ११ अध्ययन निरन्तर नगरे, कक्षामा ७० प्रतिशतभन्दा कम हाजिरी रेकर्ड रहे अथवा सामुदायिक विद्यालयमा नाम दर्ता गराई निजी विद्यालयमा अध्ययनरत पाइएमा त्यस्ता छात्रालाई ल्यापटप नदिइने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, लामो समयदेखि बन्द रहेको छोरी शिक्षा बिमा कार्यक्रम पुनः सुरु भएको छ । ०७८ माघ १ गतेदेखि जन्मिएका छोरीहरुको बिमा पुनः सुरु भएको छ ।

प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीहरूको ३ लाखको बिमा गर्दै आएको छ । तर, बिमित रकम प्राप्त गर्नका लागि छोरी २० वर्ष पूरा गरेको र एसईई पूरा गरेपछि मात्र निर्देशनालयको सिफारिस र अन्य आवश्यक कागजात प्राप्त भएपछि खातामा जम्मा भएको रकम नियमानुसार प्राप्त हुने ब्याज, बोनससहित सेवाप्रदायकले बिमित मुद्दति बचतकर्तालाई भुक्तानी गर्नेछ ।

कार्यविधिअनुसार २० वर्ष नपुगी अथवा एसईई उत्तीर्ण नगरेकी छोरीको बिमित रकम बेटी पढाऊ, बटी बचाऊ अभियानमा जानेछ । यसअघिको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ निर्देशिका ०७७ र छोरी शिक्षा/मुद्दति कार्यक्रम सञ्चालन निर्देशिका २०७५ भने खारेज गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय