नयाँ दिल्ली— भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले मङगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ ।

महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको दोस्रो दिन हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो ।  

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएयता हालसम्म पाँच लाख ४ हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ । 

सोही अवधिमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने एक लाख ८० हजार ४५६ रहेको छ । यसैसँगै हालसम्म कोरोना भाइरसबाट चार करोड ८४ हजार ६५८ जना निको भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी रहेको छ । त्यसैले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।  

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ९ लाख ९४ हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय