काठमाडाैं— नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे पनि पार्टी विवादमा मध्यस्थता गरिदिन आग्रह नगरेको स्पष्टीकरण दिएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपालसँग टाढा र अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिँदै गएको चर्चा चलिरहेका बेला एमाले उपाध्यक्ष रावलले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।
झन्डै ३ घण्टा भएको छलफलमा रावलले राष्ट्रपतिसँग एमाले विवाद समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको भनेर खबर आइरहेका बेला सोमबार राति सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका हुन्।
‘राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो,’ रावलले भनेका छन्, ‘राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन।’









