काठमाडाैं— निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवादमा सोमबार निर्णय लिँदैछ ।
त्यसका लागि आयोगले जसपाका ५१ जनै कार्यकारिणी समिति सदस्यलाई नागरिकतासहित सशरीर उपस्थित हुन भनेको छ । आयोगले उनीहरुको ‘हेड काउन्ट’ को आधारमा आधिकारिकताको निर्णय गर्नेछ ।
यसअघि आधिकारिताको दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले आयोगमा निवेदन दिएका थिए भने त्यसमा महन्थ ठाकुरले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । यस विषयमा आयोगले इजलास गठन गरेर सुनुवाइ गरेपछि हेट काउन्टकै आधारमा निर्णय गर्ने तय गरेको थियो ।
जसअनुसार आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।
५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ ।
उसो त महन्थ ठाकुर पक्षको माग बमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पनि यादव बलियो अवस्थामा देखिएका हुन् । पछिल्लो समय उपेन्द्र यादवको पक्षमा कार्यकारिणी समितिसँगै संसदीय दलमा बहुमत देखिएको छ ।
यसैबीच आइतबारदेखि नै अध्यक्ष यादवले आफूपक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखेका छन् । उनले गोदावरीस्थित एक रिसोर्टमा ३२ जनालाई प्रशिक्षणको नाममा राखेका हुन् ।









