काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।
सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् ।
देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवसमूह सहभागी हुँदैछन् ।








