-
रोहित महतो
जनकपुरधाम— गत जेठ २० गते बिहानैदेखि सुजिता ठाकुरको परिवारमा विवाद सुरु भयो । सोही दिनदेखि उनी ‘बेपत्ता’ भइन् ।
तर, ३९औँ दिनमा महोत्तरीको लोहरपट्टी नगरपालिका- ७ स्थित उनको आफ्नै जग्गाको शौचालयको सेप्टिक ट्यांकभित्र गाडिएको अवस्थामा आइतबार विहान सुजिताको शव फेला परेको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार घरबाट करिब एक किलोमिटरको दुरीमा निर्माणाधीन सेप्टिक ट्यांकीमुनि खाल्डो खनेर माथिबाट ढलान गरी गाडिएको अवस्थामा शव बरामद भएको हो ।
‘शरीरमा कतै काटिएको छैन् । घाँटी थिचेरै मारेको जस्तो देखिन्छ । पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप कुरा खुल्छ,’ उनले भने । विष्टका अनुसार जेठ २० गते बिहान करिब ८ बजेतिर झगडाको क्रममा कुटपिट गरि सुजितालाई हत्या गरिएको थियो । दिनभरी उनको शव घरमै लुकाएर राखेको र साँझमा खेतमा लगेर गाडेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
‘आफ्नै खेतमा साँझपख लगेर शव व्यववस्थापन गरेको देखिन्छ । अरुले समेत थाहा पाइसकेको गाइँगुइ सुनेर असार १२ गते त्यहाँबाट शव निकालेर हदभित्र गाडेका थिए,’ डीएसपी विष्टले भने । सुजिताको हत्या भएका बेला उनका दुई जना बच्चा घरमै रहेको उनले बताए । हत्या गर्नुअघि विवाद चर्किपछि देवर रुपेश ठाकुरले सुजिताकी बुवालाई फोन गरेका थिए ।
‘छोरीलाई सम्झाइबुझाइ गर्न आउनु भन्दै रुपेशले हामीलाई फोन गरेका थिए । तर तर १० मिनेटमै फेरि फोन गरेर झगडा सल्टियो आउनु पर्दैन भने । त्यही बीचमा मेरी छोरीलाई मारदिएछ,’ सुजिताकी बुवा कामेश्वर पाण्डेयले भने ।
उनको परिवारमा दैनिकजसो झगडा भइरहने र झगडा सल्टिएको सुनेपछि सुजिताकी माइती पक्षले समेत त्यतीखेर खासै चासो देखाएनन् ।
करिब डेढ वर्षअघि झगडाकै क्रममा ससुरा पक्षले सुजितालाई निर्घात कुटपीट गर्दा आँखा सुन्निएको थियो । त्यो घटनाको मिलापत्र जिल्ला प्रहरी कार्यालय महोत्तरीमै भएको थियो । माइती पक्षका अनुसार त्यसबेला देवर रुपेश ठाकुरसहित उनको आमा, बुबाले कुटपीट गरेका थिए । तर, आइन्दा कुटपीट नगर्ने भनी जिल्ला प्रहरी कार्यालयमा उनीहरूले प्रतिबद्धता जनाएका थिए ।
छोरीसित कुरा गर्न रातिसम्म प्रयास गर्दासमेत प्रयास सफल नभएको कामेश्वरले बताए । तर भोलिपल्ट बिहान रुपेशले उनलाई फोन गरे । ‘रुपेशले भोलिपल्ट बिहान ११ बजेतिर फोन गरेर तपाईंको छोरी अर्कैसित भाग्यो भनेका थिए । तर, हामी अचम्ममा पर्यौँ,’ उनले भने । रुपेशले कामेश्वरलाई घटनाको यसरी बढाइचढाइ गरे कि उनलाई माइती पक्षलाई पनि सुजिता भागेकै हुन सक्ने शंका भयो ।
‘एक युवकसित सुजिताले फोनमा कुरा गर्ने गरेको विषयमा यसअघि पनि विवाद भएको थियो । त्यो कुरा सबैलाई थाहा थियो । त्यसैले उनको देवर, ससुरालगायतकाले उल्टै उनको बुबाबाट ईलाका प्रहरी कार्यालय पिपरामा ती युवकले छोरीलाई बेपत्ता पारेको भन्दै खोजदिन आग्रह गर्दै निवेदन पनि दिन लगाएका थिए,’ अधिकारकर्मी गुन्जा रायले भनिन् ।
प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनको संलग्नता कतै नदेखिएपछि प्रहरीले छोडिदियो । तर, आफैँलेसमेत खोजबिन गर्दा सुजितालाई भगाएको भनिएको युवक घरमै रहेको र घटना भएका बेला कतै नगएको देखेपछि कामेश्वरलाई सुजिताको ससुरा र देवरमाथि शंका लाग्न थाल्यो । उनको घरमा पुगेर हेर्दा लत्ताकपडा र गरगहना समेत कोठामै देखेपछि माइतीपक्ष थप शशंकित भयो ।
‘सुजिताको छोराले पनि सबैले मिलेर आमालाई मारेको बयान दिए । रुपेशले पनि आफूले नै मारेको भनी सुजिताको दाइसँग फोनमा स्वीकार गरेपछि उनको हत्या भएको खुल्यो,’ अधिकारकर्मी रायले भनिन् । प्रहरीले घटनाको अनुसन्धानमा खासै चासो नदेखाएको सुजिताको माइती पक्षसँगै अधिकारकर्मी रायको अरोप छ ।
माइती पक्षले सुजिताको हत्या नै भएको धेरै प्रमाणहरु भेट्दासमेत प्रहरीले घटना अनुसन्धानमा चासो नदेखाएपछि विदेशमा रहेका उनका दाइले अधिकारर्मी गुन्जा र सरोज रायलाई हारगुहार लगाएका थिए । उनीहरूको सक्रियताले मात्र प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको बताइन्छ ।
सुजितालाई बेपत्ता पारिएको भन्दै माइती पक्षले गत जेठ २३ गते नै प्रहरीमा निवेदन दिएका थिए । तर, प्रहरीले त्यसबेला कुनै वास्ता गरेन । ससुरा पक्षले नै सुजिताको हत्या गरेको प्रमाण देखिन थालेपछि असार ४ गते अधिकारकर्मी रायसहित माइती पक्ष ससुरा पक्षविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । फेरि असार ६ गते पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि माइती पक्षले घटनामा प्रहरीको समेत मिलेमतो रहेको आरोप लगाउन थाल्यो ।
‘हामी अनुसन्धान गरिरहेका छौँ । शव नभेट्दासम्म कसरी जाहेरी दर्ता गर्ने ? भागेकै पनि हुन सक्छ भनेर एसपीले जवाफ दिन्थे,’ अधिकारकर्मी रायले थपिन्, ‘प्रहरीले निवेदनको आधारमा आरोपीलाई नियन्त्रणमा लिएर कम्तीमा छनबिन गर्नुपर्थ्यो । राजनीतिक दबाब र परिवारको प्रलोभनमा परेर प्रहरीले सुनुवाइ गरेन । सूचना दिँदा समेत काम गरेन ।’
जिल्ला प्रहरीले नसुनेपछि महिला आयोग र प्रदेश २ का डीआईजीलाई गुहार लगाउन जाँदा अनुसन्धान अघि बढेको रायले बताइन् । डीआईजी उमेश रन्जितकारले तुरुन्त अनुसन्धान गर्न भन्दै डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली गठन गरे । र, छानबिन सुरु भयो ।
त्यसै क्रममा स्थानीयको सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा असार १२ गते सुजिताको ससुरा पतिरामको नाउमा रहेको जग्गामा उत्खनन गर्दा कपाल, नङ र रगत लत्पतिएको माटो फेला परेको थियो । शव गलाउन मलखाद र नुनको समेत प्रयोग गरिएको थियो । त्यसपछि सुजिताको हत्या आरोपमा उनका देवर रूपेश ठाकुर र श्रीमान् मुकेश ठाकुरसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढायो ।
अनुसन्धान गर्दै जाँदा सुजिता बेपत्ता प्रकरणको गुत्थी खुलेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेका सुजिताकी ससुरा पतिराम ठाकुर, सासु र देउवरानी सहितका अझै केही व्यक्ति फरार छन । उनीहरूको खोजी कार्य जारी रहेको डीएसपी विष्टको भनाइ छ ।
विवादको कारण
सुजिताको माइती पक्षले विहेमा दाइजो नदिएको र देवर रुपेशले एक्लै सम्पति हत्याउन खोज्दा दैनिक जसो विवाद हुने गरेको बताइएको छ । तर, प्रहरी अनुसन्धानमा भने सुजिताको पर पुरुषसित अवैध सम्बन्ध रहेको बुझाइले उनको हत्या गरेको खुलेको प्रहरी बताउँछ ।
‘अस्मिता (प्रतिष्ठा) सँग जोडिएको विषय भएकाले धेरै कुरा खुलाउन मिल्दैन । तर, अरु केटासँग लागेको, सम्बन्ध बनाएको ससुरा पक्षको बुझाइ थियो । हत्याको मुख्य कारण यही हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।
उक्ता विषयमा विवाद बढेपछि अंशवण्डा गरी छुट्टिएर बस्ने सुजिताको मनसाय रहेको स्थानीय बताउँछन् । अनुसन्धानमा खटिएका अर्का प्रहरीका अनुसार लामो समयसम्म रुपेश र सुजिताबीच समेत अवैध सम्बन्ध रहेको आशंका गरिएको छ ।
सुजिताका श्रीमान् सुस्त मनस्थितीका छन् । परिवारले सुजितामाथि सोही कारण पनि विभिन्न आरोपहरू लगाउँदै आएको थियो । अरुसित कुराकानी र घुमफिर गरेको परिवारको आरोप थियो । सोही कारण विवाद सुरु भएको प्रहरीको प्ररम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमान् धेरै नबुझ्ने भएकाले सुजितामाथि आरोप लाग्ने गरेको स्थानीय बताउँछन् ।
हत्याको मुख्य कारण यही रहे पनि सम्पत्ती विषयमा समेत उनको घरमा विवाद हुँदै आएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकाले फरार अभियुक्तहरू समेत समातिएपछि थप कुरा खुल्ने डीएसपी विष्टले बताए ।
१० वर्ष पहिले सुजिता र मुकेशबीच विवाह भएको थियो । उनका ९ वर्षीया छोरी र पाँच वर्षका छोरा छन् । उनीहरू अहिले मावलीमा छन् ।
साभारः शिलापत्र











