ढल्केवर— नेपाल सद्भावना पार्टीले चुनाव चिन्हमा पंजा छाप पाएको छ ।

निर्वाचन आयोगमा दल दर्ता नं १५५ मा दर्ता कायम रहेको नेपाल सद्भावना पार्टीले चुनाव चिन्ह पंजा पाएको हो ।

आईतवार बसेको आयोगको बैठकले नेपाल सद्भावना पार्टीलाई चुनाव चिन्ह खुलेको पंजा छाप (सेतो रङमा रातो रङ भएको पाँचवटा औंला भएको हत्केलासहितको खुलेको पंजा छाप) प्रदान गर्ने निर्णय गरेको हो ।

आयोगले पार्टीलाई पंजा छाप चुनाव चिन्ह दिएको आधिकारीक जानकारी पत्र प्राप्त भइसकेको नेपाल सद्भावना पार्टीका महासचिव नागेन्द्र सिंहले जानकारी दिए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेस र मधेसी, थारु, आदिवासी जनजातीको हकअधिकारीका लागि २०४७ सालदेखि संघर्षरत गजेन्द्र नारायण सिंहको नेपाल सद्भावना पार्टीको आत्मा पंजा पुनः घर फर्केकोमा खुशी व्यक्त गरे ।

मधेस र पहाडको उत्पीडित, दलित समुदायको हक अधिकारको लागि २०४७ सालमा गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गरेको उनले स्मरण गराए । विगतमा गैर मधेसी नेता र मधेसी, थारु, आदिवासी जनजाती विरोधीको हातमा गएको पंजा अन्तत मधेसको हक अधिकारका लागि लड्ने, नेतृत्व गर्ने नेपाल सद्भावना पार्टीको हातमा आएको अध्यक्ष महतोले प्रतिक्रिया दिए ।

यसअघि पंजा छाप पछिल्लो पटक समाजवादी पार्टीको चुनाव चिन्ह रहेको थियो ।

तर एक वर्षअघि तत्कालीन राजपा र समाजवादी एकीकरण भएर जसपा बनेको थियो । गत वर्ष वैशाख १० गते दुबै दलबीच एकीकरण भए पनि निर्वाचन आयोगमा असार २४ गते दर्ता भएको थियो । एकीकरण भएको दलको नाम र चुनाव चिन्ह एक वर्षसम्म कानुनअनुसार आयोगले फ्रिज गरेर राख्छ ।

दल दर्ता भएको एक वर्ष पूरा भएसँगै २५ असारमा नेपाल सद्भावना पार्टीले चुनाव चिन्ह पंजाका लागि निवेदन दर्ता गराएका थिए । सोहीदिन हरिनारायण यादव नेतृत्वको राजपा नेपालले दल दर्ता र चुनाव चिन्ह पंजाका लागि आयोगमा निवेदन पेश गरेका थिए ।

तर राजपा नेपालभन्दा अगाडी आफूहरुले चुनाव चिन्ह दावी गरेकाले पंजा छाप आफूहरुलेनै पाएको नेपाल सद्भावना पार्टीका महासचिव सिंहको भनाई छ ।

साभारः द पब्लिक टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय