काठमाडौं— समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
जसपा अवैधानिक रहेको भन्दै उत्प्रेषणको आदेशबाट जसपलाई खारेज गर्न मागसहित सर्वोच्चमा रिट दायर भएको हो ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) समाजवादी पार्टी नेपालबीचको एकीकरण वैधानिक नरहेको भन्दै तत्कालीन राजापका उपाध्यक्षसमेत रहेका अधिवक्ता राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन् ।
निर्वाचन आयोग, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र जनता समाजवादी पार्टी (जसपा) लाई विपक्षी बनाएर उनीहरूले रिट दायर गरेका छन् ।
रिटमा यो मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश पनि माग गरिएको छ ।
निर्वाचन आयोगमा २०७७ असार ९ गते जनता समाज पार्टी दर्ता हुँदा राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व नगराइएको, राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण हुँदा भएको सम्झौता बमोजिम केन्द्रीय कार्यसमितिमा जनशक्ति पार्टीको प्रतिनिधित्व नभएको रिटमा उल्लेख गरिएको छ ।
त्यस्तै पार्टी एकीकरणपछिको कार्यसमितिमा एक तिहाइ महिला समावेश नगराइएको, शहीद परिवार र जनजाति तथा दलितको प्रतिनिधित्व हुन नसकेको पनि रिटमा उल्लेख गरिएको छ ।











