नवलपुर— गैँडाकोटमा भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ८ जना पक्राउ परेका छन् ।

भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका–६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटा, ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफि अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चारजना साक्षीहरू रहेका  छन् ।

गैँडाकोट नगरपालिका–६ का वडाध्यक्ष सापकोटाले २०७७ चैत १ गते पहिचानबिनै वंशजका आधारमा नागरिकता बनाउन झुटो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए ।

‘नागरिकता बनाइदिन नक्कली बाबु बनेका सफि अल्ला मियाँको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिन्छ,’ प्रहरी निरीक्षक खनालले भनिन्, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं ।’

भारतीय नागरिक देवन आफ्नै छोरा भएको र नागरिकतामा उल्लेख आमा भनिने ममिता खातुनले सानैमा छोडेर गएको भनी झुटो विवरण मियाँले पेश गरेका थिए ।

नक्कली बुबाआमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा २०७७ चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए ।

जन्मदर्ता बनाएको १५ दिनभित्रै नागरिकता बनेको देखिन्छ । आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको र अन्य विषय अनुसन्धानबाट खुल्ने प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका आरोपीहरूलाई नागरिकतासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक खनालले बताइन् ।

साभारः लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय