• रोहित महतो

जनकपुरधाम— गएको १७ चैतमा महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुरका सात जना किशोरी हराएको घटनाले नयाँ मोड लिएको छ ।

टिकटक हेरेर गायिका बन्न भारततर्फ गएको भनिएका युवतीलाई बेच्ने उद्देश्यले योजनावद्ध तरिकाले भारत पुर्‍याएको युवतीका आफन्तले आरोप लगाएका छन् ।

घाँस काट्ने बहानामा घरबाट निस्केका स्थानीय १२ वर्षीया सीमा पासवान र रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवानको मुम्बई जाँदै गर्दा हराएको भोलिपल्ट विहार राज्यस्थित सीतामढी रेल्वे स्टेशनबाट उद्धार गरिएको थियो । उद्धार गरिएकीमध्ये अर्चनाकी दिदी कलाकारसमेत रहेकी पूजा पासवानले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने जितेन्द्र पासवानले प्रलोभनमा पारी भारतर्फ योजनावद्ध रूपमा बेच्न लगेको आरोप लगाएकी छन् ।

घटना भएलगतै स्थानीय जनप्रतिनिधिसँगै प्रहरी प्रशासनले पनि ती किशोरीहरूलाई अपहरण गरिएको आशंका गरेका थिए । र, त्यसमा पूजाको संलग्नता हुनसक्ने उनीहरूको आशंका थियो । घटनाबारे थाहा पाएलगतै प्रहरीले पासवानमाथि सूक्ष्म निगरानी राख्दै हराएका किशोरीहरूकी खोजीमा लागेका थिए ।

हराएको भोलिपल्ट भारतीय प्रहरी, एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समन्वयमा उनीहरूको उद्धार गरिएको थियो । यद्यपि, अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले घटनामा कसैको संलग्नता नदेखिएको बताएपछि प्रहरीको अनुसन्धानमै समेत प्रश्न उठेको थियो ।

गाउँबाहिर कतै नगएका ती किशोरीहरू आफैँले कसरी बोर्डरमा सशस्त्र प्रहरीलाई छक्याएर समूहमै मुम्बइ जाने योजना बनाउन सक्छन् भन्दै स्थानीयले प्रश्न उठाएका थिए । महोत्तरी प्रहरीसँगै ओरेक नेपालकी अधिकृत लीला दयालीले समेत टिकटक भिडियो देखेर ती किशोरीहरू मुम्बई जाँदै गरेको बयान दिएको बताएकी थिइन् । घटना अनुसन्धान तथा काउन्सिलिङका लागि उनीहरूलाई एक साता ओरेक नेपालको सेफ हाउसमा राखिएको थियो ।

तर, घटना भएको साढे तीन महिनापछि पूजाले कुनैबेला एकदमै हिमचिम रहेका साथी जितेन्द्रमाथि योजनावद्ध रूपमा किशोरीहरूलाई बेच्‍न लागेको आरोप लगाएकी हुन् । घटनामा शंकास्पद पात्र मानिएकी पूजाको बयानले फेरि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ ।

शुक्रबार बिहान जनकपुरस्थित रामानन्द चोकमा वियरको बोतल प्रहारबाट घाइते भएकी उनी सञ्चारकर्मीहरूसित कुराकानी गर्दै जितेन्द्रले ती किशोरीहरूलाई बेच्न भारतर्फ लगेको र आफूमाथि समेत उनैले प्रहार गरेको बताएकी हुन् ।

‘दुई बजे मलाई धम्की आयो । त्यसको भोलिपल्टै बच्चाहरू गायब भए । बच्चालाई ओरेकमा दबाब दिएर सत्य बोल्न दिइएन । पैसाको आडमा सबै सबुत मेटाइदिए,’ पूजाले सञ्चारकर्मीसित भनिन्, ‘गायक बन्न गएको कुरा सरासर झुट हो । जो बच्चाको बजारसम्म जाने सोच्न सकेका थिएनन्  उनीहरू एकाएक गायक बन्न कसरी जान सक्छन् ?’

ती किशोरीहरूलाई घर फर्केर आएपछि सत्य बोले ज्यान मारदिने धम्की दिएको उनले खुलाइन् । ‘बोर्डर पार गर्नुअघि ती बच्चाहरूलाई थर्ड डिग्रीको टर्चर दिइएको थियो । अहिले ती बच्चाहरू सबै साँचो कुरा ओक्लिरहेका छन्,’ उनले थपिन्, ‘हामी केही बन्न गएका थिएनौँ उनीहरूले भन्दैछन् । यो घटना रहस्यमय रहयो । मेरो बच्चालाई पनि किडन्याप गर्ने धम्की दिएपछि म मौन बसेँ ।’

तर, ती किशोरीहरूलाई बेच्न खोजेको आरोपी जितेन्द्रले भने उल्टै पूजाले नै उनीहरूलाई कलाकार बनाउने लोभमा भारततर्फ बेच्न लाँदैगर्दा आफूहरूको सक्रियताले किशोरीहरूको उद्धार भएको दाबी गरे । दलित जनजाति पार्टी भीम आर्मीका प्रदेश इन्चार्ज दाबी गर्ने उनले हराएका ती किशोरीको खोजीमा आफू एसएसबीसँग समन्वय गरी मोटरसाइकल चढेर भारत गएको खुलाए ।

‘पूजाले हिरोइन बनाउने लोभमा उनीहरूलाई भारततर्फ लैजाँदै थिइन् । गाउँका धेरै युवतीहरूलाई कलाकार र हिरोइन बनाउने लोभ देखाउँदै हिँडेकी छन् । तर, आफू बच्न मलाई यो केसमा फसाउन खोजेकी छन्,’ जितेन्द्रले थपे, ‘प्रहरी प्रशासनले अनुसन्धान गरे दूधको दूध र पानीको पानी छुट्टिन्छ । हामी आफैँले पनि अनुसन्धान गर्दैछौँ ।’

पूजा महिला भएका कारण गाउँमा समेत यो मुद्दा दबाइएको र यसबारे महोत्तरीका एसपीलाई समेत आफूले जानकारी गराएको उनको भनाइ छ । ‘घटना भएको बेला म दिल्ली जाँदै थिएँ । मैले तुरन्तै सीतामढीमा भीम आर्मीका साथीहरूलाई फोन गरेर पठाएको थिएँ, तर ती किशोरीहरूसित पूजाले कसैलाई कुरा गर्न दिइनन्,’ उनले थपे ।

पूजामाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै उनले आफूलाई फसाउने योजना बनाइएको आरोप लगाए । यद्यपि, किशोरी हराएकै बेला देखिएको उनको सक्रियता, भूमिका र बयानले शंसय उत्पन्न भएको छ ।

हराएर भारतमा फेला परेका सातै किशोरीलाई करिब एक साता काउसलिङ गरेका ओरेक नेपालकी अधिकृत दयालीले आफूहरूले उनीहरूलाई मनोपरामर्श सेवा दिएको तर अनुसन्धान गर्ने निकाय नरहेकाले घटनामा अर्को पक्षको संलग्नताबारे जानकारी नरहेको बताइन् ।

‘हाम्रो सहयोग मनोविमर्श सेवा (काउन्सिलङ) गर्ने मात्र हो । अनुसन्धानको पाटोलाई थोरै सहयोग होस् भनेर काउन्सलिङ गरेका हौँ । हामीलाई जजमेन्टल भएर अनुसधानको घेरामा बसेर काउन्सिलिङ गर्न मिल्दैन,’ उनले भनिन्, ‘हामीसित मिलेपछि केही क्लु दिन्छ भन्ने इन्टेनससन थियो । तर, सबैको एउटै आवाज आयो हामी मिलेर गएका हौँ भनेर ।’

समुदयामा घुलमिल हुँदासमेत सोधपुछका क्रममा नयाँ कुराहरू नआएको दयालीले बताइन् । घटनामा पूजा र जितेन्द्रको संलग्नाबारे बाहिरी हल्ला सुने पनि त्यस्तो केही प्रमाण नभेटिएको उनले सुनाइन् ।

‘हामीले पनि घटनामा पक्कै कोही न कोही हुनुपर्छ भन्ने पक्षमा थियौँ । तर, हामीले प्रहरीले जसरी त अनुसन्धान गर्न मिल्दैन्, हामीले कोहीसित मिलिमतो गरेर घटना दबाउने सवाल नै आउँदैन’ अधिकृत दयालीले सुनाइन् ।

घटनामा कसको संलग्नताबारे कसले के दाबी गरे भन्ने आफूलाई थाहा नभएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए । घटना भएको बेला आफू काठमाडौंमा तालिम लिन गएकाले त्यसबारे बुझेर मात्र केही भन्न मिल्ने उनले प्रतिक्रिया दिए ।

‘पूजाको आफ्नै केही केसहरूको सिलसिलमा जिल्लामा पनि आउनुभएको थियो । जितेन्द्रको संलग्नताबारे उहाँले भन्नुभएको थियो तर भरपर्दो नलागेपछि छोडिदिएका थियौँ,’ डीएसपी विष्टले भने ।

साभारः शिलापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय