काठमाडौं— प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज (सोमबार) सकिँदै छ। रिट निवेदक पक्षका अधिवक्ताले आइतबार सुरु गरेको जवाफी बहस आज सकिने भएको हो।

उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ। आइतबार रमन श्रेष्ठले एक घण्टा बहस गरेका हुन्।

अब आज बाँकी समयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन्।

जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ।

एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसियसनका २ र सर्वोच्च बारका २ वरिष्ठ अधिवक्ताले राय राख्नेछन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई (माथि तस्बिर) रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको हो।

इजलासले चाहे आजै (सोमबार) बहस सकिने सम्भावना छ। यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ।

प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै हालिएको मुद्दाको फैसला कस्तो आउला भन्ने जनचासो व्यापक बनेको छ।

यही असार ९ देखि जारी सुनुवाइमा पक्ष र विपक्ष गरी २९ घण्टा बहस भइसकेको छ।

सुरुमा निवेदक पक्षले १२ घण्टा बहस गरे। त्यसपछि विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट १४ घण्टा बहस भयो भने रिट निवेदनकै विपक्षी तर रिटका पक्षधर सभामुखका तर्फबाट २ घण्टा बहस भएसँगै सुनुवाइ सकिन लागेको हो।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि परेका दुवै (ओली र देउवाको) दाबी गत जेठ ७ गते अस्वीकृत गरेकी थिइन्। त्यही मध्यराति सरकारको सिफारिसमा उनले प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्च अदालतमा मुद्दा परेको हो।

सोमबार बहस सकिए पनि फैसला आउन भने केही दिन लाग्ने अनुमान गरिएको छ।

साभारः नेपालखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय