काठमाडाैं— जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिन्डर सङ्कलन थालेको छ ।

अक्सिजनका लागि सिलिन्डर अभाव हुन थालेपछि प्रहरीले सिलिन्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिन्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

कोभिड सङ्क्रमितका लागि सिलिन्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिन्डर सङ्कलन शुरु गरेको छ । दमौलीबाट पाँच वटा भरी सिलिन्डर र १० वटा खाली सिलिन्डर सङ्कलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिन्डर सङ्कलन गरिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बजार क्षेत्रबाट आठ वटा भरी र १७ वटा खाली सिलिन्डर सङ्कलन गरेको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिन्डर विभिन्न अस्पतालमा पठाउने गरी सङ्कलन गरिएको भुसालले जानकारी दिए । सङ्कलन गरिएको सिलिन्डर प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा पठाउने तयारी गरिएको छ ।

यस्तै तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रो कम्पनीसँग पनि सिलिन्डर रहेकाले प्रशासन कार्यालयको पत्रपछि उक्त सिलिन्डर पनि सङ्कलन गरिने प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि पनि आँबुखैरेनी क्षेत्रबाट २६ वटा सिलिन्डर सङ्कलन गरी चितवनको अक्सिजन उत्पादन कम्पनीमा पठाएको थियो ।

दमौली आसपासका ग्यारेजमा अक्सिजनका सिलिन्डर जथाभावीरूपमा फालिएको भेटिएको थियो । प्रयोगमा आएका सिलिन्डर जथाभावीरूपमा फालिएको तस्वीर सार्वजनिक भएपछि ती सिलिन्डर सङ्कलन गर्नुपर्ने आवाज उठेको थियो । अक्सिजनको सिलिन्डर ग्यारेजमा फलाम काट्न, हाइड्रो कम्पनीमा वेल्डिङ र सुन पसलहरुमा प्रयोग हुँदै आएको छ । कतिपयले भने घरमा पनि राख्ने गर्नाले अहिले सिलिन्डर अभाव भएको सार्वजनिक हुँदै आएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय