ढल्केवर— धनुषाको ढल्केवरमा होटेल म्यानेजमेन्टको पढाइ सुरु भएको छ । ढल्केवर कलेज अफ होटेल म्यानेजमेन्टले डिप्लोमा तहको होटेल म्यानेजमेन्टको पढाइ सुरु गरेको हो ।
युकेस्थितको युनिभर्सिटीबाट सम्बन्धन लिएर एकवर्षे डिप्लोमा तहमा होटेल म्यानेजमेन्ट, प्रोफेसनल कुकरी र बरिष्टाको पढाइका लागि भर्ना खुलाएको कलेजका प्रबन्ध निर्देशक प्रमोदकुमार साहले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरु धमाधम भर्ना भइरहेकोले कोमल होटलस्थित रहेको कलेजमा छिट्टै अध्ययन अध्यापन सुरु हुन्छ ।
भर्नाका लागि कम्तिमा एसएलसी वा एसइइ उतीर्ण भएको हुनुपर्ने कलेजले जनाएको छ । यो पढाइले स्वउद्यम बन्ने अवसर भएकाले स्नातक पढिरहेका विद्यार्थीहरुको लागि पनि भर्ना हुन राम्रो मौका रहेको कलेजका प्रबन्ध निर्देशक साह बताउँछन् ।
‘लर्न एण्ड अर्न’ प्रोग्राम अन्तर्गतको यो पढाइतर्फ विद्यार्थीहरु आकर्षित हुने मिथिला उद्योग वाणिज्य संघका महासचिव दिपक लामाको बुझाइ छ । ‘होटल क्षेत्रमा पर्याप्त रोजगारीको अवसर छ । यो प्रोग्राममा विद्यार्थीहरुलाई पढाइसँगसँगै कमाइ पनि हुने भयो । झन् एकवर्षे पढाइ सकेपश्चात रोजगारीको सुनिश्चितता रहेको पनि भनिएको छ,’ महासचिव लामा भन्छन् ‘यो पढाइले विद्यार्थीहरुको भविष्य पनि निर्धारण गर्छ । जुन एकदमै राम्रो हो ।’