ढल्केवर— धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा रेकर्डिङ स्टुडियो सुभारम्भ गरिएको छ । सोमवार एक समारोहकाबीच मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो र उपमेयर सुनिता सिंह बुढाथोकीकोले संयुक्त रुपमा उक्त रेकर्डिङ स्टुडियोको उद्घाटन गरेका हुन् ।

रेकर्डिङ स्टुडियोको उद्घाटन गर्दै मेयर महतोले यस क्षेत्रमा कलाकारहरु उत्पादन गर्न यो स्टुडियोले महत्वपूणर् भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । ‘यसले कला र संस्कृति क्षेत्रको विकासमा एउटा ईट्टा थप्ने काम गरेको छ,’ मेयर महतोले भने ।

गाउँसमाजमा गौन रहेको प्रतिभालाई कलाकार बनाउन यो एउटा राम्रो प्लेटफर्म रहेको उपमेयर सुनिता सिंह बुढाथोकीले बताईन् । गीतसंगीतको माध्यमबाट पनि यस क्षेत्रको लोक संस्कृति जगेर्ना गर्न यो एउटा राम्रो माध्यम भएको उनले उल्लेख गरिन् । ‘पछिल्लो समय गीतमा देखिएको अश्लिलतालाई निरुतसाहित गर्नुपर्छ । युवापुस्तालाई रचनात्मक बनाउन जरुरी छ,’ उपमेयर बढाथोकीले भनिन् ‘यो स्टुडियोले सभ्य समाज निर्माण गर्न भूमीका खेलोस् । शुभकामना ।’

मिथिला नगरपालिका वडा नं ६ र ७ का वडाअध्यक्ष क्रमश नन्दकिशोर यादव र रामबहादुर स्याङद्नले युवाहरुले गरेको आँटलाई स्थानीय सरकारले सम्मान गर्नुपर्ने बताए । कलाकालहरुको यस्ता प्लेटफर्मलाई संरक्षण गर्न सबैको दायित्व भएको बताउँदै उनीहरुले यसमा आफूहरुको सहयोग रह्ने प्रतिबद्धता जनाए ।

ढल्केवरस्थित अप्पन मिडिया प्रोडक्सन हाउस प्रा.लि.ले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको हो । नयाँ कलाकार उत्पादन गर्न र भएका कलाकारहरुलाई आफ्नो क्षेत्रमा पोख्त बनाउन अत्याधुनिक उपक्रणसहितको रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको अप्पन मिडिया प्रोडक्सन हाउस प्रा.लि.का अध्यक्ष विजय कुमार दासले बताए । उनले यस स्टुडियोबाट गीतसंगीत रेकर्ड, प्रचारप्रसार समाग्रीको उत्पादन तथा प्रसारणलगायतको हुने बताए । ‘यहाँबाट हामीले यस भेगका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको अन्तर्वार्ता प्रसारण गर्ने पनि योजना बनाएका छौं,’ अध्यक्ष दासले भने ।

उद्घाटन कार्यक्रममा मिथिला नगरपालिका वडा नं १ का वडाध्यक्ष जोगी महतो, नेकपा माओवादी केन्द्रका नेता रामकुमार महतो, मिथिला उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्तोष कुमार महतो, हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतो, रोचक एण्ड घोचकका निर्देशक कलाकार प्रदिप कुमार सिंहलगायत गायक एवं कलाकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय