धनुषा— धनुषाको मिथिला नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमत प्राप्त गरेको छ । नेपाली कांग्रेसले मेयर जितेको मिथिला नगरपालिकामा शुक्रवार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा एमाले–एकीकृत समाजवादी गठबन्धन विजयी भएका छन् ।

८ सदस्य पदको लागि भएको निर्वाचनमा एमाले र नेकपा एकीकृत समाजवादीका ४÷४ जना सदस्यहरु निर्वाचित भएका हुन् । नगर कार्यपालिकाको ५ महिला सदस्य पदमा गठबन्धनबाट नेकपा एमालेकी अन्जु श्रेष्ठ, नगिना खातुन, मिना पजियार र नेकपा एकीकृत समाजवादीकी कौशिल्या देवी महरा र ईन्द्रकला कुमारी महतो निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय ढल्केवरले जनाएको छ । महिला सदस्यमा निर्वाचित पाँचैजना उम्मेदवारले ३९ मत पाएका छन् ।

यस्तै दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एकीकृत समाजवादी पार्टीका विशेश्वर साह हलुवाई, सर्लिमा सुनवार र नेकपा एमालेका महेन्द्र राउत निर्वाचित भएका छन् । निर्वाचित विशेश्वरले सर्वाधिक ४०, सर्मिलाले ३८ र महेन्द्रले ३९ मत प्राप्त गरेका छन् ।

५ महिला सदस्यतर्फ एमालेले तीन, समाजवादीले दुई र ३ दलित वा अल्पसंख्यकतर्फ एमालेले एक, समाजवादीले दुई सिट लिएर गठबन्धन गरेको थियो । ८ कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले पनि नेकपा एकीकृत समाजवादीलाई चार सिट दिएर गठबन्धनका लागि प्रस्ताव गरेका थिए । तर समाजवादीले एमालेलाई नै सघाएपछि कार्यपालिका सदस्यमा कांग्रेसले बहुमत हात पार्न सकेनन् ।

मिथिला नगरपालिकामा मेयर, उपमेयर, ११ वडाध्यक्ष र निर्वाचत ८ सदस्य गरी कुल २१ जना कार्यपालिका सदस्य रहनेछ । जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ५ र नेकपा एकीकृत समाजवादीका ६ सदस्य भएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट एक उपमेयर र ५ वडाध्यक्षसहित २५, नेपाली कांंग्रेसबाट एक मेयर र ४ वडाध्यक्षसहित १९, नेकपा एकीकृत समाजवादीबाट २ वडाध्यक्षसहित ११ र नेकपा माओवादी केन्द्रबाट २ सदस्य गरी ५७ जना निर्वाचित भएका थिए ।

शुक्रवार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ५७ जनाले नै मतदान गरेका थिए । ८ सदस्यको लागि १२ जनाले उम्मेदवारी दिएका थिए । नेकपा एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेपाली कांग्रेसले ५ महिला सदस्यतर्फ ३ र ३ दलित वा अल्पसंख्यक सदस्यतर्फ १ गरी ४ जनाको उम्मेदवारी कायम राखेको थियो । तर, एकीकृत समाजवादीले एमालेसँग गठबन्धन गरेपछि कार्यपालिकामा कांग्रेस प्रतिनिधित्वको आधारमा तेस्रो स्थानमा धकेलिएका छन् ।

निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै नगरपालिकाको नगरसभा र कार्यपालिकामा नेकपा एमालेले बहुमत पाएको छ । मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो र उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएका छन् । ११ वटा वडा रहेको नगरपालिकामा ५ वटा वडामा एमाले, ४ वडामा कांग्रेस र २ वडामा नेकपा एकीकृत समाजवादीले जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip