काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ ।

निगमले मंगलबार सूचना जारी गर्दै अब सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने ’boutमा जानकारी गराएको हो । निगमको पछिल्लो नियमअनुसार अब काठमाडौंबाट दिल्ली जाने सबै हवाई यात्रुले आफ्नो साथमा ४८ घण्टाभित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा लिनुपर्नेछ ।

यसैगरी, हवाई यात्रुहरूले नेपाल सरकारले अनिवार्य गरेको सीसीएमसीको प्रस्थान फारमसमेत भर्नुपर्नेछ । भारत सरकारले अनिवार्य गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने र यदि नभरेको खण्डमा आफ्नो उडानमा सहभागी गराउन नसकिने अवस्था आएको भन्दै निगमले यो नयाँ नियम लागू गरेको हो ।

निगमका अनुसार यस्तो फारम नयाँ दिल्ली विमानस्थलको वेबसाइटमा राखिएको छ । यसरी फारम भर्ने यात्रुले मात्र उडानको अवसर पाउनेसमेत निगमले स्पष्ट पारेको छ । यो नयाँ नियमसँगै निगमले आफ्नो काठमाडौ–दिल्लीको नियमित उडान तालिकामा समेत परिवर्तन गरेको छ ।

अब निगमको विमान दिल्लीका लागि हरेक दिन बिहान ११ः४० बजे दिल्ली उड्नेछ भने त्योे विमान सोही दिन दिउँसो ४ः२० बजे काठमाडौं अवतरण गर्नेछ । यो नयाँ नियम आगामी ३१ जनवरीसम्मका लागि कायम हुने र त्यसपछिको अवस्था हेरेर पुनः अर्को व्यवस्था हुने निगमले जनाएको छ ।

पछिल्लो समय भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस संक्रमदरको दर बढ्न थालेको भन्दै भारत सरकारले नेपालमा भारतसँग एयरबबल योजनाअनुसारको हवाई उडान सञ्चालन गरिरहेको छ ।

भारतसँग भएको सोही एयरबबल योजनाअनुसार नै अहिले भारतबाट एयर इन्डिया र नेपालबाट नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली उडान भरिरहेका छन् । यस्तो उडानमा नेपाली र भारतीय दुई मुलुकका नागरिक र तेस्रो मुलुकका अनुमति प्राप्त हवाई यात्रुले मात्र उडानमा सहभागी हुन पाउने मापदण्ड बनाइएको छ ।

यो मापदण्ड पछिल्लो समय भारतलगायत विश्वका धेरै देशहरूमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमबाट बच्ने उपायअनुरूप नै लागू गरिएको निगमले जनाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित संख्या दैनिक बढ्न थालेपछि अहिले भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । मंगलबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ लागू गरिएको जानकारी गराएका छन् । यो नयाँ नियमसँगै दिल्लीमा उच्च सतर्कता अपनाउन सम्बन्धित सबै निकायलाई सूचना जारी गरिएको छ ।

दिल्ली सरकारले गरेको यस्तो उच्च सतर्कताको नियम लागू भएपछि अब दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन् । यसैगरी, विवाह समारोह र दाहसंस्कारमा समेत २० जनाभन्दा बढी भेला हुन नपाउनेगरी प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी, ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्नुपर्नेछ । यसबाहेक, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रहरूसमेत बन्द गरिनेछ । ५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुई जनाले मात्रै यात्रा गर्न पाउनेलगायतका नियम लागू हुने दिल्ली सरकारले जनाएको छ ।

हालसम्म भारतका २१ वटा राज्यमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएको छ । ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा रहेका छन् । महाराष्ट्रमा मंगलबारसम्म १ सय ६७ जना र दिल्लीमा १ सय ६५ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको त्यहाँको सरकारले जनाएको छ । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय