काठमाडाैं— नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् ।

यस्तै, दौडधुप गर्दै बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चन्डोलस्थित निवासमा पुगे । सो क्रममा पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग गर्न आग्रह गरे ।

भेटमा सहभागी सिटौलानिकट नेता प्रदीप पौडेलका अनुसार पौडेलले सिटौलालाई आफू सर्वसम्मत रूपमा संस्थापन इतर समूहबाट सभापति बन्ने प्रयासमा रहेको भन्दै सघाउन आग्रह गरेका थिए ।

‘रामचन्द्र दाईले म सर्वसम्मत हुन्छु, मलाई सघाउनुस् भनेर भन्नुभयो तर सिटौला दाइले छलफल गर्छु, अहिले नै केही निर्णय छैन भन्ने जवाफ दिनुभयो,’ भेटवार्ताबारे जानकारी दिँदै पौडेलले भने ।

वरिष्ठ नेता पौडेल र सिटौलाबीच करिब आधा घण्टा महाधिवेशन केन्द्रित छलफल भएको सिटौलाका सहयोगी किरण सिटौलाले जानकारी दिए ।

वरिष्ठ नेता पौडेललाई कांग्रेस महामन्त्री डा. शशांक कोइरालालेसमेतले समर्थन दिइसकेका छन् । तर, इतर समूहबाटै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अडान नछाड्दा संस्थापन इतर समूहले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन ।

सिटौलाले भने यसअघि नै आफू टिमसहित महाधिवेशनमा अघि बढ्ने घोषणा गरेका थिए । उनले थप निर्णय भने गरिसकेका छैनन् । उम्मेदवार तय नहुँदा इतर समूहबाट पौडेल आफैं सभापतिको साझा उम्मेदवार बन्नेगरी अघि बढेका छन् ।

‘कि तपाईंहरू मिल्नुस् कि म सबैलाई मिलाउने गरी अघि बढ्छु भन्ने रामचन्द्र दाइको प्रस्ट भनाइ छ, महामन्त्रीजीले अडान छाडेर वरिष्ठ नेता पौडेललाई सहयोग गर्ने निर्णय गरिसक्नुभएको छ,’ संस्थापन इतर समूहका एक नेताले भने ।

प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक
नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो ।

प्रकाशित सूचीमा सातै प्रदेशका ७६ जिल्लाका प्रतिनिधिको नाम उल्लेख छ । तर, प्रदेश २ का सर्लाही जिल्लाबाट भने नामावली केन्द्रीय निर्वाचन समितिमा नआएका कारण राखिएको छैन । यस्तै, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिहरूको नामसमेत सार्वजनिक हुन बाँकी छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सर्लाहीका चारै क्षेत्र र महोत्तरी ३ को प्रतिनिधिको सूची पनि शुक्रबारसम्म सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित सूचीमा जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरूको नाम भने समावेश गरिएको छैन ।

कांग्रेसले १४औं महाधिवेशनमा देश तथा विदेश एवं भ्रातृ तथा शुभेच्छुक संघ संस्थाबाट र मनोनीत हुनेगरी ४६ सय बढी प्रतिनिधि सहभागी हुने बताउँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय