काठमाडौं— निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन् ।
उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताए ।
प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ ।
जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’
ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताए ।
उनले कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए । उनले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने जनाए ।








