काठमाडौँ— एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अप्ठ्यारोमा परेकाले अहिले आफूलाई निसर्त सहयोग गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्।
काठमाडौंको होटल मेरियटमा बुधबार साँझ भएको भेटमा अध्यक्ष ओलीले बारम्बार आफूलाई सहयोग गर्न आग्रह मात्रै गरेको नेपालनिकट स्रोतको भनाइ छ।
‘ओलीजीले समग्रतामा र प्रष्ट कुरा गर्नुभएन, घरिघरि पार्टी अप्ठ्यारोमा छ, मलाई निसर्त सहयोग गर्नुस् मात्रै भनिराख्नुभयो,’ नेता नेपालको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘मैले यसरी त हुँदैन तपाईंले सोच्नुस् भनेर उठेर हिँडे।’
बुधबारको बैठकमा नेपालले पार्टी सञ्चालन, केन्द्र र प्रदेश सरकार सञ्चालन, ०७५ जेठ २ मा फर्किने मोडालिटीलगायत विषयमा गम्भीर छलफल गर्नुपर्ने प्रस्ताव राखेका थिए।
जवाफमा ओलीले अहिले पार्टी र सरकार अप्ठ्यारोमा परेकाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।
‘अहिले मलाई सहयोग गर्नुस्, बाँकी विषयमा पार्टी एक भएपछि फेरि छलफल गरौँला,’ ओलीले नेपाललाई भनेका थिए।
ओलीले हरेक मुद्दामा गम्भीर भएर कुराकानी गर्नै नचाहेको नेता नेपालले बताएका छन्।
साभारः नेपालखबर











