• वीरेन्द्र कर्ण

पर्सा— बंगलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ ।

सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा युरिया मल आइपुगेको हो ।

जीटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने छ । तीमध्ये बाँकी रहेको ५ हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रवन्धक गोरखनाथ केसीले बताए ।

उनका अनुसार बंगलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिक टनबाहेक थप २ हजार मेट्रिकटन युरिया मल नेपाल आउने भएका छन् । यसवर्ष धान रोप्ने समयमा मलको अभाव नहुने उनको भनाइ छ ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भएको प्रबन्धक केसीले बताए ।

सम्झौता अनुसारको बाँकी ५ र थप २ गरी कूल ७ हजार मेट्रिकटन मल १ हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुग्ने बताइएको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन (जीटुजी) मार्फत खरीद गरेर बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन लागिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल १ हजार ७०० मेट्रिकटन, डीएपी ७६० मेट्रिकटन र पोटास ८२० मेट्रिक टन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।

पर्सा जिल्लास्थित १३१ थोक विक्रेतामार्फत् सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई १ पटकमा १३० बोरासम्म मल दिने गरेको छ । बिक्रेताले स्थानीय तहले तोकेको मूल्यमा किसानलाई मल बिक्री गर्ने गरेको छ ।

कतिपय बिक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने माग किसानको छ । पर्सामा ९० प्रतिशत किसान व्यावसायिक रूपमा धान खेती गर्दै आएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय