पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।
संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, सरकारमा सहभागी भएको, नेता महतोलाई किन दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको जस्ता आरोप मन्त्रीलाई लगाइएको छ ।
महतोको नेतृत्वमा सरकारमा गएको जसपाले उपप्रधानमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री पाएको छ । महतोले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रालय पाएका छन् । यस्तै शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजकिशोर यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
जसपाबाटै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी छन् । ओली सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र विवाद छ । यादव समूह सरकारमा सहभागी नहुने पक्षमा छन् तर ठाकुर र महतो समूह सरकारमा सहभागी हुनुपर्ने वकालत गर्दै सरकारमा सहभागी भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।








