धनुषा— मधेस प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आज जनकपुरधाममा हुँदै छ ।
न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फछ्र्योटको अवस्था तथा आगामी न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताए ।
सो मेलामा अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली, सेवा प्रवाह, पुराना मुद्दा फछ्र्योटको अवस्था तथा नागरिकलाई न्यायिक प्रक्रियाबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
कायममुकायम मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताए । उनका अनुसार अदालतले पुराना मुद्दा फछ्र्योटलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने उनको विश्वास छ ।
कायममुकायम मुख्य न्यायाधीश कुँवरका अनुसार ‘न्यायिक मेला’लाई न्यायपालिका र नागरिकबीचको दूरी घटाउने माध्यमका रूपमा लिइएको छ । मेलामार्फत अदालतको सेवा, न्यायिक प्रक्रिया, वैकल्पिक विवाद समाधान, कानुनी सहायता तथा नागरिक अधिकारसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याइने उनले जानकारी दिए । रासस











