काठमाडौं— एम.भी. दुगड ग्रुपले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
ग्रुपका अनुसार सहयोग रकममा एम.भी. दुगड ग्रुप तथा ग्रुपको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समावेश छ ।
२०८३ साल भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट ठूलो धनजनको क्षति भएको भन्दै ग्रुपले घटनाप्रति दुःख व्यक्त गरेको छ । ग्रुपले बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेको छ ।
पीडित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ । विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रुप प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण यस्ता विनाशकारी विपद् बढिरहेको विज्ञहरूको मत रहेको सन्दर्भमा ग्रुपले वि.सं. २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
ग्रुपका अनुसार हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गरिएको छ ।
ग्लोबल वार्मिङको असर कम गराउने उद्देश्यले सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रमलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिने ग्रुपले प्रतिबद्धता जनाएको छ ।








