जनकपुरधाम — संयुक्त राष्ट्र संघले मान्यता दिएको विश्व ध्यान दिवसको अवसरमा द आर्ट अफ लिभिङ जनकपुरधामको आयोजनामा श्री जानकी मन्दिरको प्राङ्गणमा भव्य ध्यान कार्यक्रम सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि ८:३० बजेसम्म चलेको कार्यक्रममा द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक गुरुदेव ब्रह्मचारी चैतन्य जी र शैलेन्द्र हमाल जीको नेतृत्वमा सामूहिक ध्यान अभ्यास गराइएको थियो।
कार्यक्रममा बोल्दै ब्रह्मचारी चैतन्य जीले जनकपुर माता जानकीको पवित्र घर भएकाले यसलाई सधैँ स्वच्छ, सुन्दर र पवित्र राख्नुपर्ने बताए। उनले केवल भाषणले होइन, व्यवहारिक कामबाट मात्र परिवर्तन सम्भव हुने स्पष्ट पारे। स्वच्छता सरकारको मात्रै जिम्मेवारी नभई हरेक नागरिकको साझा दायित्व भएको उनको भनाइ थियो।

उनले ‘स्वच्छ जनकपुर अभियान’ अन्तर्गत सबै नागरिक, सामाजिक संस्था, गैरसरकारी तथा आध्यात्मिक संघ–संस्थालाई एकजुट भएर जनकपुर सफा राख्न आग्रह गरे। अभियानमा जोडिन चाहने व्यक्ति तथा संस्थालाई नजिकको द आर्ट अफ लिभिङ केन्द्रमा सम्पर्क गर्न पनि उनले अपिल गरे।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, सञ्चारकर्मी, शिक्षक–विद्यार्थी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। ध्यानपछि सहभागीहरूले आफूलाई शान्त, हल्का र सकारात्मक महसुस भएको प्रतिक्रिया दिएका छन्।
यसै अवसरमा जनकपुरधामका विभिन्न विद्यालय तथा कलेजहरूमा डिसेम्बर ५ देखि २१, २०२५ सम्म सञ्चालन गरिएका निःशुल्क ध्यान सत्रहरू पनि सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।
आयोजकका अनुसार नेपाल ध्यान र आध्यात्मिक अभ्यासको जन्मभूमि हो। भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तथ्यले ध्यानलाई नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानसँग जोड्छ। सन् १९८१ मा गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापना गरिएको द आर्ट अफ लिभिङ फाउन्डेसन हाल विश्वका १८० भन्दा बढी देशमा सक्रिय छ।
आयोजकले यस्ता कार्यक्रमहरूले समाजमा शान्ति, सद्भाव र मानसिक सन्तुलन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।











