- फुलगेन मगही
ढल्केवर— अहिले स्थानिय, प्रदेश, संघ तीनै तहका सरकार बिकाश निर्माणको काम हरेक पालिकादेखी लिएर स्थानीय स्तरमा गरिरहेको अवस्था छन् । हरेक शीर्षकमा छुट्याएको बजेटको काम अषाढको चटारो परेर धमाधम छिटोछरितो काम सकाउने तरखरमा सबै स्थानीय तह लागि परेका छन् । तरखर हुनु स्वभाविक पनि हो ।
तर धनुषाको मिथिला नगरपालिकामा यतिबेला विवादमा तानिएको छ । नगरसभाबाटै पारित भएका योजना सञ्चालनमा नगरप्रमुख महेन्द्र महतोले रोक लगाएपछि उपप्रमुखसहितका जनप्रतिनिधिहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरुले योजना शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।



विकास निमार्णदेखी लिएर तालिम, उद्यमी लगायतका शीर्षकको बजेट संचालन गर्नबाट मेयरले बन्चित गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको नगरउपप्रमुख सुनिता सिंह बुढाथोकीले जानकारी दिइन् ।
उनले आफ्नो अधिकार खोसेकोले बाध्य भएर तालाबन्दी गर्नु परेको बताइन् । उनले भनिन्, ‘किन मेरो शीर्षकको काममा रोक लगाएर राख्नुभएको छ ? किन बजेट संचालन गर्न दिईरहनु भएको छैन भनेर मैले बारम्बार लिखित रुपमा अधिकृत र मेयर साबलाई प्रश्न गर्दा जवाफ दिनबाट पन्छिदै आउनुभएको छ । तगेदा गर्दा पनि मेरो कुराको निकासा नलगाएको कारण बाध्य भएर ताल्चा लगाए ।’
बिधी, प्रकृयालाई जहिले पनि आफ्नो मनमानि ढंगबाट चलाउन खोज्ने मेयरले आफ्नो बजेट र ईच्छाअनुकूल बजेट कार्यपालिकाबाट पास गर्न खोजेको कारण पनि समयमा कार्यपालिकाको बैठक बस्न नसकेको उनको जिकिर छ ।
यता मेयर महेन्द्र महतोले नगरपालिकामाथिको मुद्दा उपमेयरले फिर्ता नलिएपछि बजेट संचालन गर्नबाट रोक लगाएको स्वीकारे । ‘मुद्दा फिर्ता लिने विषयमा पटक पटक सहमति भएको हो । तर उहाँहरुले सहमति उल्लंघन गरेपछि उहाँलाई बजेट संचालन गर्नबाट रोक लगाएका छौं,’ मेयर महतोले भने ।









