शीर्षक कवि रमेश क्षितिजको ‘घर फर्किइरहेको मानिस’ जस्तो भए पनि यो कुनै घर फर्किइरहेको मानिसको कथा होइन । यो कुरा हो निरीह मानिसले भोगिरहेको अत्यासलाग्दो समयको !

पहिले यो प्रचण्ड–गर्मीमा प्रचण्डको एउटा प्रसंग :

‘आज पोखराको आकाशलाई प्रचण्ड नै चाहिएला जस्तो छ’, काँधमा झोला भिरेर बाहिर निस्किंदै गर्दा साथीले भने ।

वैशाख १५ गते । आसपासका वनमा सल्किएको अग्नि–स्वरुप डढेलो, विस्तारित भइरहेका पृथ्वी राजमार्ग र अन्य बाटोको मर्मतमा चलिरहेको खनजोत कार्यले पैदा गरेको ‘विकासको धुलो’ र मानव सभ्यताको सवारी चलाइरहेका वाहनहरूले धर्तीमा फ्याँकिरहेको धुवाँले पोखराको वायुमण्डल केही दिनदेखि मण्डलेमा परिणत भइरहेको थियो ।

पोखराबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमाल त दूरको कुरा विश्वशान्ति स्तूपा र पुम्दीकोटको महादेवको समेत दर्शन दुर्लभ भइरहेको थियो । यो कुहिरीमण्डलमा जहाज उड्न सक्ने सम्भावना थिएन । सामान्यतया ३ हजारदेखि ३५ सय मिटरभन्दा बढीको भिजिविलिटी भए मात्रै जहाज उड्छन् भन्ने मैले सुनेको । यो कुरा कति ठीक हो, फ्याक्ट चेक गर्नुहोला । त्यस दिन पोखराको आकाशको भिजिविलिटी ‘दूरदृष्टि क्षमता’ भने हाम्रा नेतागणको जस्तै थियो– अत्यन्त कम ।

हामीलाई काठमाडौं फर्किनु थियो । अघिल्लो दिनदेखि नै जहाज नउडे पनि एयरपोर्ट त पुग्नु पर्‍यो ! हामी जहाजको नयाँ निर्धारित समयमा एयरपोर्ट पुग्यौं । बोर्डिङ काउन्टरका कर्मचारीको कुरा सुनेपछि हामीलाई उडान हुने कुरामा त्यति नै विश्वास भयो जति नेपाली जनता आजभोलि नेताको भाषणमा विश्वास गर्छन् ! शून्य !

टिकट क्यान्सिल गरेर बाहिर निस्किंदै थियौं, साथीले भने– ‘आज पोखराको आकाशलाई प्रचण्ड नै चाहिएला जस्तो छ ।’

मैले सोधें– किन ?

‘यो प्रदूषण हटाउन कि त ठूलो पानी पर्नुपर्छ कि त ठूलो हावाहुरी चलेर उडाएर लैजानुपर्छ । नेपालमा सधैं आँधीहुरी सृजना गर्छु भनेर भाषण गर्ने प्रचण्ड नै हुन् ! उनैलाई ल्याएर आँधीहुरी सृजना गर्न पाए त आकाश खुलेर जहाज उड्थ्यो कि !’

गफै त हो !

तिनले गफलाई भाषण बनाए, हामीले तिनका भाषणलाई गफ !

००० ०००

कुरा थियो, डढेलो र वायु प्रदूषणको ।

डढेलोले देश डढिरहेको छ भन्यो भने कसैले भन्लान्– ‘देश भनेको वन–जंगल हो र ?’ तिनको जानकारीका लागि बताइदिउँ, समाजमा घुसखोरी र बेइमानी पैmलिए जसरी डढेलो जंगलबाट घरगाउँ, बस्तीतिर पनि फैलिइरहेको छ ! पूर्वदेखि पश्चिमसम्म घरगोठहरू जलिरहेका छन् ।

उनको सक्रियता देख्दा लाग्छ– हर्क साम्पाङ पनि एक बाल्टी पानी लिएर धुरी चढ्न आँट्ने मान्छे हुन् ! धरानमा खानेपानी ल्याउने उनको अभियान पनि यस्तै थियो !

‘धादिङमा घर जल्दा दम्पतीको मृत्यु’, ‘सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर नष्ट’, ‘सोलुखुम्बुमा आगलागीले २२ घरगोठ जले’, ‘डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट’, ‘महोत्तरीका आगलागी पीडितलाई बास उठ्ने चिन्ता’, ‘डढेलो फैलिएपछि सल्यानको छत्रेश्वरीमा ११ घरगोठ जलेर नष्ट’ । यी केही शीर्षक हुन् पछिल्ला दुई–तीन दिनका समाचारका ।

पानी नपरेको महिनौं भइसक्यो । दिनहरू गर्मीले फतक्क गलेको मानिस जस्ता भएका छन् । जमिन तातेको छ । तुवाँलोले जतासुकै ढाकेको छ । वातावरण उकुसमुकुसमा छ । प्रदूषणले श्वास–प्रश्वासका बिरामीलाई अप्ठेरो भइरहेको छ ।

राजधानी आसपासमै पनि ललितपुर र काभ्रेमा डढेलोले वन खाइरहेको छ । वैशाख १९ मा ललितपुरको गोदावरी नगरपालिकाका सबै वडामा भीषण डढेलो फैलिएको समाचार छ । डढेलो निभाउँदा ललितपुर बडिखेलका दुई नागरिक शंकर र रमेश पहरीको मृत्यु भएको छ ।

उनीहरू आगो निभाउन खोज्दैथिए, आगोले टिप्यो । उपचारका क्रममा मृत्यु भएका यी दुईका नाममा गोदावरी नगरपालिकाले शोक वक्तव्य जारी गर्दै परिवारलाई ५/५ लाख सहयोग दिने बताएको छ । तर, नजिकैको ‘केन्द्र–सरकार’ मौन छ । मानिसको जीवनको मूल्य लगाउन सकिंदैन तर तिनको बलिदानीलाई निरर्थक जस्तो ठानी उपेक्षा पनि गर्नुहुँदैन ।

समाजमा एउटाले फैलाएको आगोले कैयौं निर्दोषलाई पिर्छ भन्ने सदियौंदेखि चलिआएको कुराको परीक्षण यसपालि पनि भइरहेको छ । चाहे अविश्वासको होस्, चाहे धर्म–सम्प्रदायको होस्, प्रभुत्वको होस् वा जंगलमा लगाइएको आगोको, यी सबैले आफ्नो अर्को नभनी आफ्नो लपेटामा आउने सबैलाई चपेटामा पार्छन् । घाँस उमार्न जंगलमा र दास उमार्न समाजमा आगो लगाउने चेष्टा गर्ने प्रशस्त हुन्छन् । सचेत समाज यसबारे सजग रहने गर्छ ।

वैशाख १६ गते म्याग्दीको पुलाचौर लगायत केही स्थानमा आगो लगाउनेलाई पक्राउ गरिएको समाचार पनि आएको छ । यस्ता समाचारलाई व्यापक बनाएर आगो लगाउनेलाई पश्चात्तापको रापमा सेकाउनु पनि पर्ला जस्तो छ । ताकि आगो झोस्नुअघि मानिस झस्किउन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले त जंगलमा आगो लगाउनेलाई ‘जन्मकैद हुनुपर्छ’ भनी भाषण पनि गरेछन् । कमसेकम गण्डकीमा यस्तो कानुन बनाउन उनलाई शुभकामना । बाँकी, मुखिया सरकार त केही दिन टेलिफोनमा रिंगटोन बजाएर, आफ्नो दायित्व पूरा गरेर ढुक्कले बसिसकेको भान हुन्छ !

००० ०००

दाङका एक जना मानिस एक बाल्टी पानी लिएर आगोसँग लड्न घरको धुरीमा चढेको फोटो देखेर मेरो मनै चिसो भयो । जीवनमा मान्छेलाई के–के आइलाग्छ ? मान्छेको विवशता कतिसम्म हुन्छ ?

खरले छाएको छानो छ, एक तलाको सानो घर छ । यो घरमा के नै होला र त्यस्तो बहुमूल्य ! लाखौंका बिटा पक्कै छैनन्, बहुमूल्य जवाहरत पनि होलान् जस्तो लाग्दैन । धेरैबेर सोचेपछि लाग्यो– टाउको लुकाउने यो झुपडी नै त हो अमूल्य । यसको कुनै मूल्य छ एउटा मानिसका लागि ?

दैनिक जीवन चलाउने सामग्री, अन्नपात र भाँडाकुँडा, लुगाफाटा र स्मृतिहरू मिलेर कसैको घर बनेको हुन्छ । घरले मान्छे मात्रै होइन यी मसिना कुरालाई पनि स्थान दिइरहेको हुन्छ । मान्छेको पहिलो लडाईं आफ्नो ज्यान बचाउनलाई होला, त्यसपछि घरपरिवार नै त हो ! घरको मूल्य होला तर त्यसले दिने सुरक्षाको भाव अमूल्य हुन्छ । त्यसैले घर जोगाउनलाई बाल्टीमा त के अञ्जुलीमा भए पनि पानी लिएर मानिस छानामा चढ्न सक्छ ।

फेरि सोचें, साँच्चिकै आगो आइपुग्यो भने यिनको हालत के होला ? एक बाल्टी पानीले छानो जोगाउन सक्ला ? घर जोगाउन सक्ला ? उनैलाई जोगाउन सक्ला ?

फेरि लाग्यो– परिणामको फिकर नगरी प्रयास गर्नु नै सबभन्दा ठूलो कुरा हो ।

गरिबी, अशिक्षा र बेरोजगारीले लपेटेको समाजलाई जोगाउने सरकार पनि सायद यी मानिस जस्तै होला, जो केवल आश्वासनको एक बाल्टी पानी लिएर धुरी चढेर बसेको छ !

एकताका काठमाडौंका मेयर बालेनले सिंहदरबारमा आगो लगाइदिन्छु भनेका थिए । उनलाई त्यसबेला पक्राउ गर्ने कुरा चलेको कुरा सीके राउतले सार्वजनिक गरेका थिए, जो कुनै बेला आफैं मधेशमा मसाल लिएर हिंडेका थिए । धन्न बालेन र सीके दुवैले राँको झोसेनन् र सरकारी पानी जोगियो !

सायद, दाङका ती मानिसको घरमा आगो आइपुगेन होला । मेरो मनस्मृतिमा भने उनी अहिले पनि त्यही छानोमा बसिरहेका छन् । आकाशतिर हेरिरहेका दुई त्रसित आँखा । सायद, घरमा अरू पनि थिए कि ? एउटा फोटोमा सबै कुरा अटाउँदैन । डढेलोले भन्दा बढी त आइरहेको संकटको तापले मानिसलाई पोल्दो हो । क्यामेरामा यो कसरी अटाओस् !

००० ०००

फेसबुकमा मैले यी मानिसको भिडियो भेटेपछि मेरो अनुमान भन्दा परिस्थिति अलि फरक पाएँ । दाङको लमही नगरपालिका वडा नं ९ मा त्यस दिन भएको के रहेछ भने, उनको छिमेकी घरलाई आगोले खाइदिएछ । हावाले आगोको लप्का आफ्नो घरमा नल्याओस् भनेर उनी धुरीमा चढेका रहेछन् । भिडियोमा प्रहरी, गाउँले र स्थानीय जनप्रतिनिधिहरू मिलेर उनका छिमेकीको घरको आगो निभाइरहेको पनि देखापर्‍यो ।

आगो निभाउने मानिसहरू मलाई महान् लाग्छन्, जसरी आगो जोगाउने मानिसहरू हुन्छन् ! आगोले सभ्यताको निर्माणमा जति महत्वपूर्ण भूमिका खेलेको छ, त्यति नै विनाशमा पनि । आगो र पानीको कथामा नै सायद पृथ्वीमा मानिसको उत्पत्ति र विनाशको कथा होला ।

केहीअघि अष्ट्रेलियामा लागेको डढेलोले त्यहाँका करोडौं बढी जीवजन्तु नष्ट गरेको समाचार आएको थियो । त्यो आगलागी निभाउन हजारौंको संख्यामा अग्नि नियन्त्रक, दमकल र आकाशबाट पानी फाल्नलाई हेलिकोप्टरको प्रयोग भएका थिए । नेपालमा पनि हरेक साल आउने भएपछि यस्तो विपत्तिसँग जुध्नलाई सरकारले पूर्वतयारी गर्नुपर्छ । प्रशिक्षित जनशक्ति र उपकरणहरूको जोहो गर्नुपर्ने देखिन्छ । अर्को साल टेलिफोनमा बजाउने रिंगटोन अहिलेदेखि नै सुरक्षित राख सरकार !

गफको मात्रै आँधीहुरीले डढेलो निभ्दैन !

बरु, धरानका मेयर हर्क साम्पाङ डढेलो निभाउन आफैं भिडेछन् । वैशाख २० गते डढेलो निभाउन र जंगलमा रहेको खानेपानीको पाइप जोगाउन भिड्दा खरानी र कोइलाले कालै भएको आफ्नो हुलिया सहित उनले फेसबुकमा पोस्ट गरेका छन् । वैशाख २१ गते बिहानै साढे ५ बजे उनी ‘ल है मित्रहरू’ भन्दै आगो निभाउने अभियानमा हिंडिसकेका थिए । फेसबुकमा उनले लेखेका छन्, ‘खानेपानीको पाइप जोगाउन र डढेलो लगाउनेको खोजी गर्न अबदेखि ड्रोनबाट निगरानी गरिनेछ ।’

उनको सक्रियता देख्दा लाग्छ– हर्क साम्पाङ पनि एक बाल्टी पानी लिएर धुरी चढ्न आँट्ने मान्छे हुन् ! धरानमा खानेपानी ल्याउने उनको अभियान पनि यस्तै थियो !

आगोलाई हामी सपना, हुटहुटी वा केही गर्ने तीव्र इच्छाको विम्बका रूपमा पनि प्रयोग गर्छौं । त्यसका लागि ‘आगो मर्नुहुँदैन’ वा ‘आगो निभेको छैन’ पनि भन्छौं । त्यो आगोले मनको डढेलो सल्काउँछ ।

आकाशबाटै पानी नपरी जंगलको आगो निभ्ला जस्तो देखिंदैन । खडेरीले खाएको धर्तीलाई शीतल बनाउन, असंख्य जीव–जनावर र रूखबिरुवाको रक्षा गर्न आकाशले नै पानी नघोप्ट्याई अरू उपाय देखिंदैन । साभारः अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय