काठमाडाैं— राष्ट्रिय सभाका २ रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

बागमती प्रदेशतर्फ भोलि बिहीवार र लुम्बिनी प्रदेशतर्फ रिक्त १ सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन तोकिएको हो ।

बागमती प्रदेश उपनिर्वाचनमा ३ उम्मेदवार र ३४८ मतदाता छन् । लुम्बिनी प्रदेशमा २ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २९६ मतदाता छन् ।

बागमती प्रदेशमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट डा. खिमलाल देवकोटा उम्मेदवार तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ । यसअघि पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर अहिले कांग्रेसमा आवद्ध उनी केही दिनअघि मात्रै पार्टी प्रवेश गरेका हुन् ।

दाङ मुख्य निर्वाचन अधिकृत कार्यालयमा मंगलवार उनीहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । उपनिर्वाचनमा बागमती प्रदेशसभाका ११० मध्ये १०९ सांसदले मतदान गर्नेछन् । १ सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।

स्थानीय तहका २३८ प्रमुख/उपप्रमुख समेत गरी कूल ३४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ । बागमतीतर्फ आयोगले निर्वाचन प्रयोजनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको अवस्थामा ‘मौन अवधि’ समेत शुरू भइसकेको छ ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बागमती तर्फको उपनिर्वाचनका लागि गत जेठ ३ गते रातिबाट मौनअवधि शुरू भइसकेको जानकारी दिए । बागमतीतर्फ सत्तारुढ एमाले उम्मेदवार गृहमन्त्री बादलले सूर्य र कांग्रेस, माओवादी केन्द्र तथा जसपाबाट उम्मेदवार देवकोटाले कलम र नेमकिपाका उम्मेदवार तामाङले कलम चिह्न प्राप्त गरिसकेका छन् ।

देवकोटा संघीयता विज्ञ तथा एमालेनिकट बुद्धिजीवी मानिन्छन् । बादल भने केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

नेकपा एकता हुनुअघि उनी माओवादी केन्द्रबाट उम्मेदवार थिए । एमाले प्रवेशपछि माओवादी केन्द्रले बादललाई कारबाही गरेको थियो । त्यसपछि उनको राष्ट्रियसभा सदस्य पद गुमेको हो । बागमतीतर्फ उनको सोही स्थानमा उपनिर्वाचन हुन लागेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय