काठमाडौं- नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरुको छलफलबाट नेपालमा नसर्ने रोगको अवस्था निकै चुनौतीपूर्ण रहेको निष्कर्ष निक्लिएको छ ।
कार्यक्रममा डा.अभिनभ वैद्यले मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मष्तिस्काघात, अम्लपित्त, मिर्गौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदि नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको उल्लेख गरे । यी रोगबाट ४० वर्षभन्दा मुनि उमेरका युवावर्ग बढी प्रभावित भएको बताउँदै उनले यी रोगबाट बच्न सोच्नुपर्ने बेला आएको उल्लेख गरे । चालिस वर्षभन्दा कम उमेरका ३७ दशमलव ९ प्रतिशत युवा नसर्ने रोगबाट नप्रभावित बनेको डा.अभिनभ वैधले जानकारी दिए ।
डा.सरोज निरौलाले विश्वमा वार्षिक १० लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताए । क्यान्सरबाट ज्यान गुमाउनेमा ७० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका मानिस रहेको उनले उल्लेख गरे । नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गएको बताउँदै उनले नसर्ने रोग क्यान्सरबाट बचाउन जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्ने उल्लेख गरे । धुलोधुँवा, विकिरण रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढेको बताउँदै स्वस्थ जीवनशैली नै क्यान्सरसँग लड्ने पहिलो आधार भएको उनले उल्लेख गरे ।
मानसिक स्वास्थ्यको विषय महामारीभन्दा अगाडिदेखि नै उठेको बताउँदै उनले कोरोना महामारीका कारण थप यसको जटिलता बढेको उल्लेख गरे । उनले नेपालले कोरोना महामारीका कारण रोजगारी गुमाउदा, लामो समयसम्मको बेरोजरीका कारण कमजोर आर्थिक अवस्था तथा अभावका कारण अधिकांशको मानसिक स्वास्थ्यमा असर परेको बताए । मानसिक समस्याकै कारण मानिस आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको बताउँदै उनले पुरुषको तुलनामा ठूलो सङ्ख्यामा महिलाले आत्महत्या गर्ने उल्लेख गरे ।









