विशेष रिपोर्ट

कमला पुल : १५ वर्षदेखि आश्वासनमै सीमित, सास्ती भोग्दै नागरिक

मन्त्री लम्सालको दाबीलाई आधार मान्ने हो भने आबको कात्तिक मसान्तभित्र कमला पुल बनेर सञ्चालनमा आइसक्नुपर्ने हो । उनकै भनाइअनुसार दुई महिना घर्किन अब मात्र २० दिन बाँकी छ । तर पुल निर्माणस्थलको स्थिति भने फरक छ ।
[sharethis-inline-buttons]
कमला पुल : १५ वर्षदेखि आश्वासनमै सीमित, सास्ती भोग्दै नागरिक
फाइल फोटो
657
Shares

जनकपुरधाम— गत २ असोजमा संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत धनुषा र सिरहा जोड्ने हुलाकी सडकको कमला पुल निर्माण अन्तिम चरणमा पुगेको सार्वजनिक गरे ।

१५ वर्षदेखि रुग्ण योजनाका रूपमा रहेको यो पुल निर्माणको कामले गति लिएकाले अबको दुई महिनाभित्रै सञ्चालनमा आउने उनको दाबी थियो ।

‘…अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो,’ उनले लेखेका थिए । मन्त्री लम्सालले दिएको उक्त जानकारी पोस्ट प्रधानमन्त्री बालेन शाहले समेत सेयर गरेका थिए ।

मन्त्री लम्सालको दाबीलाई आधार मान्ने हो भने आबको कात्तिक मसान्तभित्र कमला पुल बनेर सञ्चालनमा आइसक्नुपर्ने हो । उनकै भनाइअनुसार दुई महिना घर्किन अब मात्र २० दिन बाँकी छ । तर पुल निर्माणस्थलको स्थिति भने फरक छ ।

गत जेठ २३ गते पनि मन्त्री लम्सालले निर्माणाधीन कमला पुलको निरीक्षण गरेका थिए ।

गत असोज ६ गते रास्वपाका मधेश प्रदेश सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य तपेश्वर यादवले समेत पुलको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले पनि अबको दुई–तीन महिनाभित्रै कमला पुल निर्माण भएर सञ्चालनमा आउने कुरा स्थानीयलाई सुनाएका थिए ।

त्यसअघि चैत १७ गते कमला पुलको निरीक्षण गर्दै सिरहा–१ बाट निर्वाचित रास्वपाका सांसद शिव यादवले बितेको असार मसान्तभित्रै पुल सञ्चालनमा ल्याउने गरी काम अघि बढेको विषयमा मन्त्री लम्सालसँग छलफल भएको बताएका थिए ।

‘छलफलका क्रममा मन्त्रीज्यूले असारभित्रै कसरी काम सम्पन्न गरी पुल सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ,’ सांसद यादवले सञ्चारकर्मीलाई भनेका थिए ।

रास्वपाका मन्त्री र सांसद जस्तै यसअघि पनि प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मले निर्माणाधीन कमला पुलको न निरीक्षणमा कन्जुस्याईं गरे न त ढाडसमा । बेलाबखत प्रधानमन्त्री, मन्त्री र सांसदहरू तस्वीर खिचाउने, चाँडै निर्माण सम्पन्न भएर सञ्चालनमा आउने आश्वासन जनतालाई दिने र हिँड्ने क्रम चलिरह्यो । तर १५ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग भएर हिँड्ने र बाध्यताले वैकल्पिक बाटो प्रयोग गर्ने जनताले पाएको दु:खको कुनै हिसाबकिताब छैन । डुंगा चढेर दैनिक हजारौँ नागरिक कमला नदी वारपार गर्छन् । कमला पुल नबन्दाको जोखिम तथा पीडादायी यात्रा बयान गर्न सकिँदैन ।

कमला नदीमा पुल नहुँदा सप्तरी र सिरहाका नागरिकलाई तेब्बरभन्दा बढी दूरीको यात्रा गरेर जनकपुरधाम आउनुपर्ने बाध्यता छ । धनुषा र महोत्तरीका नागरिकले पनि सिरहा वा सप्तरी जानुपर्दा त्यस्तै दु:खको सामना गर्नुपर्छ ।

पुरानाझैँ नयाँ मन्त्री र सांसदले पनि ढाँटिरहँदा यस भेगका नागरिकको पीडा झन् थपिन्छ । यसले आफूहरूको पीडामाथि राज्य र नेताहरूले मजाक गरिरहेको स्थानीय नागरिकलाई लाग्न थालेको छ ।

‘मलाई अब नेता–मन्त्रीको कुरामा विश्वास नै लाग्दैन । हाम्रो पीडालाई यिनीहरूले मजाक बनाएका छन् । नयाँ–पुराना सबै उस्तै हुन्,’ सिरहा नगरपालिका–बसबिट्टाका घुरन गोइत भन्छन्, ‘अहिले पनि दुई महिनामा पुल निर्माण गरी सञ्चालनमा ल्याउन गाह्रो छ । जहिल्यै हामीलाई ढाँट्ने काम मात्रै गरे ।’

यस्तै लागेको छ, पारि धनुषातर्फ रहेको खेतमा बाढीमा हेलिँदै आउजाउ गर्ने नथुनी यादवलाई पनि । नथुनी अब पुलमा चढ्न पाउने भरोसा नै गर्न छाडेका छन् । किनभने, उनी जस्तै ६० वर्ष कटेका उनका केही साथी पुल चढ्ने आश गर्दै बितिसकेका भइसकेका छन् ।

‘सबै नेता–मन्त्री उस्तै हुन् । जनतालाई जिस्क्याइरहेका छन्, मजाक गरिरहेका छन् । त्यस कारण अब पुलबारे सोच्न छोडिसकेको छु । बाढीमा हेलिएर वर्षभरि खेतमा जान्छु, आउँछु । अब मतलब छैन,’ उनी निराश सुनिन्छन्, ‘मभन्दा पनि कान्छा थिए छिमेकी बिल्टु । उनले ‘म पुल हेरेर, चढेर मर्छु’ भनेका थिए । तर उनी बितेको पनि वर्षौँ भइसक्यो ।’

सिरहा नगरपालिका–६ बसबिट्टाका रामदेव यादव अब कामले गति लिए पनि मन्त्रीले भनेअनुसार दुई महिनाभित्र पुल निर्माण सम्पन्न हुने सम्भावना नरहेको आकलन गर्छन् ।

‘पहिलेभन्दा कामले गति लिएको छ । तर धेरै काम अझै बाँकी रहेकाले दुई महिनाभित्र सञ्चालन असम्भव जस्तै छ,’ उनले सुनाए ।

हुलाकी सडक निर्देशनालय जनकपुरका निर्देशक कृष्णकुमार महतोका अनुसार भाँचिएको दश नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सबस्ट्रक्चरको ढलान कार्य सकिएको छ । पुलको फाउन्डेसनसहित तीन वटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरका तीन वटा स्ल्याबमाथि मात्र ढलानको काम बाँकी छ । उनका अनुसार मंसिरभित्र पुल सञ्चालनमा आउन सक्छ ।

‘तीन वटा स्ल्याबमाथिको ढलान कात्तिक २० गतेसम्म सकिन्छ । त्यसपछि दुवैतर्फ माटो पुरेर तत्कालका लागि पुल सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘बाँध निर्माण लगायतका थप कामहरू पनि सँगसँगै हुँदै जाने छन् ।’

२०६८ सालमै पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पुलको ठेक्का पाएको थियो । तर उसले निर्माण सम्पन्न गर्न नसकेपछि २०७८ असार १३ गते ४७० मिटर लम्बाइको पुल निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइयो । पुल निर्माण करिब–करिब सम्पन्न भएर सञ्चालनको तयारीमा रहेका बेला २०७८ असार १७ गते आएको बाढीले पुल भासियो ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । गलत तरिकाले गरिएको डिजाइन र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगका कारण पुल सञ्चालनमा नआउँदै भासिएको प्राविधिकहरूको बुझाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला पुलको डिजाइन नै बलान नदीको पुलको नक्कल गरी तयार गरिएको निष्कर्ष निकालेको छ । पुल निर्माणमा बाधा नपरोस् भनेर अख्तियारले मुद्दा चलाउने काम तत्कालका लागि थाती राखेको स्रोतले जनाएको छ । अनलाइनखबर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर