जनकपुरधाम— भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भारतप्रति दृष्टिकोण राम्रो नरहेको बताएका छन् ।
जानकी नवमीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आइतबार जनकपुरधाम आइपुगेका जगद्गुरु रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेनको कारण कष्ट भइरहेको बताउँदै भारतप्रति उनको दृष्टिकोण राम्रो नरहेको र हिन्दुत्वप्रति प्रेम समेत नरहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध आजदेखि त्रेतायुगदेखि रहेको छ । तर बालेन प्रधानमन्त्री भएदेखि भारतप्रति नाकारात्मक रवैया गरेर दुवै देशको नागरिकबीचको सम्बन्धमा खलल पुरयाउन कष्ट दिने काम गरिरहेको छन् । बालेनलाई कसले सम्झाउने उनी अहिले युवक हुन्, राजनीतिक अनुभव छैन । भारतसँगको सम्बन्ध सिद्ध राख्नुपर्ने हो । राजा वीरेन्द्र शाहको समयमा रहेको जस्तो सिद्ध सम्बन्ध राख्नुपर्ने हो ।’
नेपाल भ्रमणका क्रममा आफूलाई आफ्नै घर आएको जस्तो अनुभूति हुने उल्लेख गर्दै उनले नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे । पछिल्लो समय बढ्दो धर्मान्तरणप्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक पहिचान संरक्षणको आवश्यकता औँल्याए ।
उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको धारणा राखे । नेपाललाई पर निर्भर हुन जरुरी नरहेको उनले बताए । चीन र अमेरिकामाथि परनिर्भरता नेपालका घातक हुन सक्ने उनको भनाई थियो ।











