काठमाडाैं— हामी नेपालका संयोजक सुदन गुरुङले भौतिक संरचनाभन्दा मानव जीवनको मूल्य ठूलो हुने बताउँदै आन्दोलनको प्राथमिकता जीवन गुमाउनेहरूलाई न्याय दिलाउनु हुनुपर्नेमा जोड दिएका छन् ।
उनले नेताहरूले जनतालाई ‘फुटाऊ र राज गर’ को रणनीति अपनाएर आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोपसमेत लगाए ।
बिहीबार माइतीघर मण्डलमा जेन-जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सिंहदरबार जलेको विषयलाई प्राथमिकता दिएर सहिदको बलिदानलाई ओझेलमा पार्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।
‘मानिसहरू सिंहदरबार जल्यो भनेर चिन्ता गरिरहेका छन्, तर सिंहदरबार त हजार वटा बनाउन सकिन्छ,’ उनले भने, ‘तर एउटा आमाको कोख रित्याएर गएको छोरालाई कसले फर्काउन सक्छ ? करोड होइन, देशै बेचे पनि त्यो नागरिक जिउँदो फर्किँदैन ।’
उनले आन्दोलनको मुख्य प्राथमिकता गोली हान्ने र आदेश दिनेहरूलाई कारबाहीको दायरामा ल्याउनु हुनुपर्ने बताए । ‘हाम्रो प्राथमिकता गोली हान्ने मान्छेबारे कुरा गर्नु हो, सिंहदरबार जल्नु दोस्रो कुरा हो,’ गुरुङले भने ।
गुरुङले जेन-जी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेकै सरकार र कर्मचारीतन्त्रलाई जनताप्रति उत्तरदायी हुन र डराउन बाध्य पार्नु रहेको बताए ।
‘नेपालको इतिहासमा यो पहिलो पटक हो, जब सरकार नेपाली जनतासँग डराएको छ। नेपाली जनताले तैँले के गरिस् ? भनेर मन्त्रीलाई प्रश्न गर्न पाएको छ,’ उनले भने, ‘यो नै हाम्रो आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि हो र यसलाई जोगाउन हामी एक हुनुपर्छ ।’
उनले नेताहरूले जनतालाई एक-आपसमा लडाएर पुरानै दलहरू ठीक भन्ने भाष्य निर्माण गर्न खोजेको दाबी गर्दै यस्ता भ्रमबाट मुक्त हुन आग्रह गरे । ‘यो लडाइँ आर कि पारको हो, यो अन्तिम लडाइँ हो । जबसम्म देश बन्दैन, तबसम्म हामी लड्नुपर्छ,’ उनले भने ।










