महोत्तरी– यू१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ छ । हालै यू१९ महिला टी२० विश्वकपमा छनोट भएर घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।
काठमाडौँ हुँदै आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ । शुक्रबार पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र ५१ हजार नगद पुरस्कार प्रदान गरेका थिए । सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरबासीले खुशी व्यक्त गरेका थिए ।
यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको उनको घरमा घुइँचो लागेको थियो । विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यू१९ महिला टी२० एशिया कप र विश्वकपको शुभकामना दिएका थिए ।
गत सोमबार पूजालाई एनपीएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’का रूपमा सार्वजनिक गरेको थियो । उक्त टोलीले उनलाई ५० हजार पुरस्कार प्रदान गरेको थियो । सोमबार नै गौशाला नगरबासीले पूजाको शोभायात्रा सम्पन्न गरे । विशेष रूपले सजाइएको रुथरुपी सवारीमा पूजा र उनका परिवारजनलाई राखेर गौशाला नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो ।
मंगलबार गौशाला नगरपालिकाले पूजालाई सम्मान गरेको थियो । नगरप्रमुख डा. दीपेन्द्र महतोले १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेका थिए । सोही दिन मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए । “प्रदेश सरकार खेलाडीको साथमा छ, हामी खेलक्षेत्रको विकासका लागि हरसम्भव प्रयत्न गरिरहेका छौँ,” मन्त्री जयसवालले पूजालाई बधाई दिँदै भने ।
बुधबार पनि पूजाको डुमरवानास्थित घरमा उनलाई भेट्ने, बधाई दिने र सम्मान पुरस्कार दिनेको लाम थियो । रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल प्रालिका सञ्चालक र चिकित्सकको टोलीले उनको घरमै पुगेर ११ हजार पुरस्कार प्रदान गरेको थियो ।
“विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष हो,” बधाई दिन आउनेसँग पूजा भन्छिन्, “अहिले हामीप्रति दर्साइएको सकारात्मक चासोले अब झन् राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ। सबैको प्रेम र हौसलाले उर्जा थपेको छ।”
पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुशी छन् । “पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन्,” उनले भने ।
रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन् । जेठी छोरी अन्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् ।