काठमाडौं— नेपाल आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । एसिया छनोटमा आयोजक युएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।
युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा जितेको थियो। नेपालका लागि सना प्रविनले अविजित ३५ रन बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रन बनाइन् । त्यस्तै साबित्री धामीले १२ रन बनाउँदा सोनी पाख्रिनले अविजित १३ रन बनाइन् ।
यसअघि युएईले टस जितेर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईलाई ८३ रनमै रोक्न कृष्मा गुरुङले ४ विकेट लिए । त्यस्तै रिया शर्मा र सीमा केसीले दुई-दुई र रचना कुमारी चौधरीले एक विकेट लिए ।
त्यस्तै युएईका लागि समैराले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथाले २०, लभन्याले १० र इन्धुजाले १० रन बनाए ।