धनुषा— धनुषाको बटेश्वरमा आँप मेला लगाइएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित स्वास्थ चौकी नजिककै बगैंचामा आँप मेला लगाइएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लक्ष्मीनिवासद्वारा आयोजित आँप मेलाको अवलोकन गर्नेहरुको भीड लागेको थियो । मेलामा २० भन्दा बढी प्रजातिका आँपहरुको स्टल राखिएको थियो । आँपको पकेट क्षेत्र मानिएको बटेश्वरमा आयोजित मेलाका अवलोकनकर्ताहरुलाई निशुल्क आँप खुवाइएको थियो ।

मेलामा आँपका परिकारहरुलाई प्रदर्शनीमा राखेर बाहिरबाट आउने मेला अवलोकनकर्ता तथा विद्यार्थीहरुलाई बगैंचामै आँपको रुखका प्रजातीहरुलाई चिनाइएको मेलाको संयोजन समेत गरेका मगही भाषा अभियन्ता फुलगेन मगहीले बताए ।

शुक्रवार आयोजित उक्त आँप मेला मधेस प्रदेशमै पहिलो भएको मगही भाषा अभियन्ता फुलगेन मगहीले दावी गरे । उनका अनुसार प्रदेशका विभिन्न स्थानबाट आएका तीनहजार बढी जनाले मेलाको अवलोकन गरेको हो । मेलाबाट आँपका गुमनाम प्रजातिहरु पनि चर्चामा आएको उनको भनाई छ ।

मेला अवलोकनका लागि मधेस प्रदेशसभाका प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा पहाडी, प्रदेश सांसद संजय कुमार महतो, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमलगायतका विशेष व्यक्तित्वहरु समेत पुगेका थिए ।

मेला अवलोकनपश्चात प्रतिक्रिया दिँदै नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले स्थानीय आँपको उत्पादनलाई व्यवस्थित बजारीकरणका लागि तीनैतहको सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले आँपबाट बन्ने अचार, सुकुटी, अमोटजस्ता परिकारलाई प्रबद्र्धनको आवश्यकता औल्याए ।

प्रगतिशील लेखक संघ मधेस प्रदेशका अध्यक्ष समेत रहेका होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले आँप मेलाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । विदेशी आँपको आयात रोक्न स्थानीय कृषकको आँप भण्डारण गर्ने विषयमा अब ध्यान केन्द्रित गर्नुपर्ने उनले उल्लेख गरे ।

‘सिजन सकिएलगत्तै बजारमा महँगो विदेशी आँपको बिगबिगी हुन्छ । त्यसले स्थानीय कृषकलाई ठुलो मारमा पार्छ । अहिले स्थानीय उत्पादनलाई भण्डारण गर्न सकियो भने हामीले केही हदसम्म विदेशी आँपको आयातको क्रमलाई नियन्त्रण गर्न सक्छौं । यसले स्थानीय कृषकलाई निकै फाइदा पुग्छ,’ घिमिरेले भने । उनले मधेसमा कृषिलाई पर्यटनसँग जोड्न सकिने प्रचुर सम्भावना रहेको प्रस्ट पारे ।

बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी सिंहले आँपको व्यवस्थित बजारीकरणका लागि पालिकाले पहलकदमी लिने बताइन् । उनले अगामी दिनमा आँप उत्पादन गर्ने कृषकहरुलाई पालिकाबाट छुट्टै तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् ।

बटेश्वर गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक कुमार महतोले स्थानीय आँपको ब्राण्डिङ्गका लागि ५ लाख रुपैया बजेट विनियोजन गर्ने उद्घोष गरे । उनले यसपालिको आँप मेलालाई आगामी वर्षहरुमा निरन्तरता दिन स्थानीय सरकार सकारात्मक रहेको विश्वास दिलाए ।

सरकारले बटेश्वर गाउँपालिकाको वडा नम्बर १ लाई आँपको पकेट क्षेत्र घोषणा गरिसकेको छ । तर, यो घोषणामा मात्र सीमित भएको वडाध्यक्ष महतोको गुनासो छ । चित्रपुरमा करिब ३ सय बिघामा आँप खेती हुने गरेको किसानहरुको अनुमान छ । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आँप खेती रहेकोले सरकारले आँप खेतीको बिमा गरिदिनु पर्ने स्थानीय किसानको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय