• फुलगेन मगही

ढल्केवर— धनुषाको मिथिला नगरपालिकाले ८० करोड ५७ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नगरसभा अन्तर्गत १४ औं अधिवेशनमा नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि ८० करोड ५७ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् ।

उनले कुल विनियोजन मध्ये चालु तर्फ ६० प्रतिशत र पूँजीगत तर्फ ४० प्रतिशत र वित्तीय व्यवस्था तर्फ कुनै दायित्व नरहेको बताइन् । आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरुमध्ये आन्तरिक राजश्वबाट ४ करोड १३ लाख, नेपाल सरकारको वित्तीय समानीकरण हस्तान्तरणबाट १३ करोड ३३ लाख, सङ्घीय राजश्व बाँडफाँडबाट १२ करोड ८४ लाख, शसर्तबाट २६ करोड ६७ लाख ९८ हजार, समपूरक अनुदान ६५ लाख, संघीय सरकारको रोयल्टीबाट १४ हजार ३ सय ४५, मालपोत रजिष्टेशनबाट २ करोड रहेको उल्लेख छ ।

यस्तै, प्रदेश वित्तीय समानीकरण ९९ लाख ३५ हजार, प्रदेश राजश्व बाँडफाँड ५० लाख, समपूरक अनुदान २० लाख, विशेष अनुदान रु. ३० लाख, प्रदेश शसर्त ९५ लाख समेत गरी ६२ करोड ५७ लाख ४७ हजार ३ सय ४५ रुपैयाँ श्रोत एकीन भई बाँकी १७ करोड ९९ लाख ६० हजार १ सय ५५ रुपैयाँ खुद घाटा रहेको नगर उपप्रमुख बुढाथोकीले बताइन् । उक्त घाटा बजेटलाई गत आर्थिक वर्षको अल्या रकम, स्थानीय श्रोत÷साधन परिचालन प्रश्नसनिक खर्चबाट बचत, ठेक्काबाट हुने बचत रकमबाट व्यहोरिने उनको भनाई छ ।

आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरुमा शिक्षा एवं स्वास्थ्य, सरसफाई, व्यवस्थापन, एवं वातावरण संरक्षण, पर्यटन एवं कृषि, गुणस्तरीय भौतिक पूर्वाधार र गुणस्तरीय सेवा प्रवाह एवं सुशासनलाई राखिएको नगर उपप्रमुख बुढाथोकीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय