महोत्तरी— बालबालिका न हुन्, घरवारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन् । न छानाको चिन्ता छ न मानाको । चिन्ता छ त केवल ‘खरानीको घर’ अरूको भन्दा राम्रोसँग कसरी ठड्याउने ?

यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी–६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन् ।  घरबास कहिले उठ्ने हुन् अहिलेसम्म टुंगो छैन तर त्यहाँका अबोध बालबालिका भने घर जलेकै ठाउँमा ‘खरानीको घर’ बनाउने खेलमा व्यस्त छन् । खरानी मुछेर दिनमा कैयनपटक घर बनाउँछन्,  भत्काउँछन् । अनि  एकअर्कालाई भन्छन्, याह देख, हम त देवाल ठार कदेली (यी हेर, मैले त पर्खाल ठड्याएँ) । 

अचेल हरेक दिन स्थानीय अभिभावकले यस्तै दृश्य देख्नुपरेको छ । बालबालिकाका लागि रमाइलो खेल भएपनि देख्नेका लागि वैशाख १२ को कहाली लाग्दो दृश्य सम्झाएर पलपलमा मन छियाछिया बनाउने कारण बनिरहेका छन यी दृश्य । 

आगलागीबाट क्षतिग्रस्त वडासँग जोडिएको छिमेकी बस्तीका मोहम्मद इसराफिल राइन घर जलेर बनेको खरानीको सहारामा सपनाको घर सजाउने बालबालिकाको क्रियाकलाप हेरेर आफूले पनि आँशु रोक्न नसकेको बताउँछन् । दसकौँ पहिलेदेखि बसिरहेका घर जलेर खरानी भएका छन्, बालबालिकाले त्यही खरानी मुछेर घर बनाइरहेका छन् । रमाइलोका लागि बनाइएका यी खरानीका घर सो बस्तीका सपना पनि हुन् । ती सपनाका घरमा पीडित परिवारले अब कहिले पो बस्न पाउने हुन् । सम्झँदा पनि उदेक लाग्छ, इसराफिलले भने ।   

स्थानीय अभिभावकमात्रै होइन मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डललाई पनि यी दृश्यले वैशाख १२ मा दन्दनी सल्किएको आगोको बिस्मृति सम्झाएर भत्भति पोल्छ, गहभरि आँसु हुन्छ । मैले आफैँले देखेँ, भोगेको घटनाले मन अझै स्थिर हुन सकेको छैन । हरेक दिन बस्ती निरीक्षणमा जाँदा बालबालिका खेलिरहेका दृश्यले झन् अस्थिर बनाउँछ । मलाई नै भत्भति जलिरहेको आभाष हुन्छ, मण्डलले भने, नगरबस्ती घुमफिरपछि घर पुगेर खान थालेकै बेला वडा नम्बर–६ कार्यालयबाट आगलागीको खबर आएलगत्तै गाँस छाडेर बस्ती पुगेको क्षण उप्काएर बेचैनी बढाउँछ । 

नगरप्रमुख मण्डलले भनेअनुसार उनको घर आगलागी भएको स्थानबाट करिब ४ सय मिटर मात्र टाढा छ । उनी घटना सुनेलगत्तै गाँस छोडेर बस्तीतर्फ हानिएको सम्झिँदा बेलाबेला भावुक बनाउने गरेको बताउँछन् । घरबाट निस्किँदै नगरको दमकल चालक, जिल्लास्थित सशस्त्र प्रहरीको ९ नम्बर गण, जिल्ला प्रहरी, जिल्ला प्रशासन र नेपाली सेनाको परिकौलीस्थित गणमा फोन गरिसकेकाले उनी नपुग्दै पाँच सात मिनेटमै नगरको दमकल आगो निभाउन लागेका दृश्य मानसपटलमा ताजा बनेर आउँछ ।  

प्रचण्डगर्मीको राप र हावाको गतिका अगाडि एउटा दमकल निरिहजस्तै बन्यो । प्रमुख जिल्ला अधिकारीको समन्वयमा केहीबेरमै दमकल थपिँदा आगोको लप्काले धेरै घरलाई लपेटिसकेको थियो । मण्डलले भने,  एकै छिनमा १० वटा दमकल पुगे, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर कर्मचारी र नगरबासी त पुग्यौँ तर केही सीप चलेन ।  आगो निभाउन करिब छ घण्टा लाग्यो । त्यतिञ्जेल बस्ती खरानी भइसकेको थियो । 

सो दिनको मौसम र आगोको राक्षसी रुप हेर्दा बस्तीमा थप क्षति बढ्न नदिन एक प्रकारको सफलता नै पाएको मण्डलको भनाइ छ । उनले त्यसो भनिरहँदा हामीले जिज्ञासा राख्यौँ, क्षति कम गर्न तपाईंहरुको प्रयास पर्याप्त थियो कि थप केही गर्न सकिन्थ्यो ? जवाफमा मण्डलले भने जसको असावधानीले भए पनि आगो त लागिसकेको थियो । हामीले खबर पाउनेबित्तिकै लागेपुगे जति सबै प्रयास गर्यौँ । आफ्नो दमकल समयमै पुर्यायौं, थप दमकल र आगो निभाउन दक्ष जनशक्ति पनि समयमै घटनास्थलमा परिचालन भए । प्रतिकूल मौसमले आगो निभाउन धेरै समय लाग्यो ।

बस्तीमा आगो दन्किरहँदा मण्डल बलिन्द्र आँसु झार्दै बस्तीबाट ससाना लालाबाला, सरसामान, पशुचौपाया र अन्य वस्तु जोगाउन अपिल गरिरहेका छन् । निकै द्रवित र हतास भएका मण्डलको त्यसताकाको भिडियो पनि सार्वजनिक भएको थियो । भिडियोमा देखिएजस्तो नागरिकको पीडा र क्षतिले भावविह्वल हुँदा पनि आफू हतास भने नभएको उनको भनाइ छ ।  

राहत र पुनःस्थापना

विपद् नै अप्रत्यासित हुन्छ । सुख्खा र गर्मीयाम भएकाले अहिले देशभर नै आगलागीका अप्रत्यासित घटना दिनदिनै बढिरहेका छन् । मटिहानी आगलागी घटना पनि त्यस्तै अप्रत्यासित थियो । त्यसैले घटनाबारे दुःखमनाउ गर्नुभन्दा अरु ठाउँमा यस्तै घटना हुन नदिन विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक छ भने मटिहानीमा भने पुनस्र्थापना, पुनर्लाभ र पुनर्निर्माणका क्रियाकलापमा गति दिनुपर्ने आवश्यकता छ । यो चरणमा मटिहानी नगरपालिका एक्लैको प्रयास पर्याप्त हुँदैन, छैन ।  नगरप्रमुख मण्डलले पनि उद्धार र राहतका लागि अभूतपूर्व सहयोग जुटेको र अब खरानी टक्टक्याएर मटिहानीलाई माथि उठाउनका लागि थप सहयोग आवश्यक रहेको बताए ।

मटिहानीका लागि यो ठूलो विपद्को समय हो तर यो समस्यामा हामी एक्लै छैनौँ । यो देशकै पीडा भएकाले सबै हामीसँग उभिन्छन् भन्ने आशा छ । त्यसैले प्रभावित परिवारका लागि तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध भइरहेका छन् । विभिन्न संघसंस्था, जिल्लास्थित सुरक्षा निकाय, उपकारी व्यक्तिहरुको उदात्त सहयोगले धेरै कुरा जुट्यो, मण्डलले भने । 

विपद्का बेला सहयोग र सद्भाव राख्नेहरु मटिहानीबासीको सम्झनामा सधैँ रहने भन्दै मण्डल अब सुरक्षित बासका लागि पनि सबैबाट उत्तिकै सहयोग पाउने आशा व्यक्त गर्छन । हालसम्म जुटेको सहयोगबाट पीडित परिवारलाई खान र आङ ढाक्न सक्ने अवस्था बने पनि बासको प्रबन्ध नहुँदा खुला आकाशमुनि बस्नुपर्ने बाध्यता रहेकाले त्यो पनि चाँडै हट्ने उनको विश्वास छ । प्रचण्डगर्मी छ । साना बालबालिका बाबुआमा र अभिभावकका काखमा निदाए पनि घरका बुढापाकाले अझै राम्ररी सुत्न पाएका छैनन् । अब प्रभावित परिवारलाई घामपानीको ओत दिनुपर्ने छ । नगरपालिकाको यो तयारीमा सबैको सहयोग रहने विश्वास छ, उनले भने ।  

पुनस्र्थापना र पुनर्निर्माणका लागि प्रदेश, केन्द्र सरकार र अन्य निकायसँग पनि निरन्तर छलफल तथा समन्वय भइरहेको नगरपालिकाले जनाएको छ । केही दिनअघि मधेश प्रदेशका मुख्यमन्त्रीको स्थलगत निरीक्षण र केन्द्र सरकारको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले अवलोकनपश्चात् आफूमा पनि केही हिम्मत बढेको नगरप्रमुख मण्डलको कथन छ । 

बच्चाहरुले बनाउने खरानीका घर होइन पहिलेजस्तै स्थायी घर बनाउन तीनै तहका सरकार र अन्य व्यक्ति तथा दातृ निकायसँग पनि कुरा भइरहेको छ । एक सयभन्दा बढी परिवारको व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय त लागिहाल्छ तर पनि हामी फेरि उठ्ने छौँ र नगर निर्माणका अरु काममा जुट्ने छौँ, मण्डलले भने ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले तत्कालका लागि आवश्यक राहत र अस्थायी बास निर्माणका लागि त्रिपाललगायत सामग्री प्राप्त हुनेक्रम बढ्दै गएको बताए । अब पुनस्र्थापना र पुनर्निर्माणको मुद्दामा केन्द्रीत हुन नगरले योजना बनाइरहेको शर्माले बताए । 

तत्कालका लागि हाम्रो नगरपालिकाले अत्यावश्यक खाद्यसामाग्री र रु पाँच हजार, काठमाडौँ महानगरपालिकाले एकमुष्ठ रु १० लाख र जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले प्रतिपरिवार रु २० हजार राहत दिने र अरु स्थानीय तहले पनि हाम्रो पीडामा सहयोग गरी मल्हम लगाउने काम गरिरहेको शर्माले बताए । अब पुनस्र्थापना र पुनर्निर्माणको अभियानमा पनि यस्तै सहयोग हुने अपेक्षा छ किनकि यो नगरपालिकाको क्षमताभन्दा बाहिरको कुरा हो । तीन तहका सरकार र अन्य व्यक्ति तथा संस्थाको सहयोगसहित यो अभियानमा लाग्नुपर्छ, उनले भने । 

करिब रु. १५ करोडभन्दा बढीको क्षति भएको जरलहवाबस्तीबाहेक मटिहानीमा वैशाखयता तीनवटा आगलागीका घटना भइसकेका छन् । जरलहवाबस्ती अघि एक फर्निचर उद्योगमा भएको आगलागीमा करिब रु ३५ लाख बराबर र गत बिहीबार मटिहानी–९ को एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । 

हरेक वर्ष गर्मीयाममा हुने यस्ता घटना अप्रत्यासित रुपमा भइरहेकै छन् । मटिहानी जरलहवा आगलागीको घटनापछि नगरपालिकाले आफ्नो क्षेत्रका बस्ती र टोलमा आगो व्यवस्थापनबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।  

बर्सेनि छिटफुट आगलागीका घटना व्यहोरे पनि जरलहवाबस्तीको घटनापछि महोत्तरीमात्रै होइन सिंगो मधेशलाई नै झस्काएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एउटा बस्ती छिनभरमा खरानीमा परिणत भएको घटनाले विपद् व्यवस्थापनको पूर्वतयारीका विषयमा आफूहरुलाई निकै चिन्तित बनाएको बताए । स्थानीयस्तरमा भएका विपद् व्यवस्थापन समिति थप सक्रिय हुने र सबै पालिकामा बारुणयन्त्र भइदिएको भए यति ठूलो क्षति हुनबाट रोक्न सकिन्थ्यो होला । अबचाहिँ सबै पालिकालाई सचेत बनाउने, स्थानीय नागरिकलाई सचेत र जागरुक बनाउने कार्यक्रम पनि सँगसँगै अगाडि बढाउनुपर्छ, गेलालले भने । 

मटिहानीका आगलागीपीडितलाई दिगो व्यवस्थापन र पुनर्निर्माणका काम अगाडि बढाउन हाल सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाएर अध्ययनको काम भइरहेको र समितिको प्रतिवेदन आएपछि बाँकी काम अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ । 

मटिहानी–६ का वडाध्यक्ष कलिम अन्सारी तीनै तहका सरकार र परोपकारी व्यक्ति तथा संस्थाहरुका सहयोगले आफ्नो बस्ती फेरि बौरिने र फेरि हाँसो फर्किने आशामा छिन् । अहिले बस्तीका बालबालिकाले खरानीका घर बनाएका दृश्य देखेर मन छियाछिया हुन्छ, गहभरी आँसु हुन्छ । अब चाँडै स्थायी घर बनाएर यो बस्तीमा हाँसो छाउने छ । सबैको सहयोगले बन्ने त्यस्ता घरमा बालबालिकाले सुन्दर भविष्यको खाका कोर्ने छन्, वडाध्यक्ष अन्सारीले भने । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय