गत फाल्गुन ११ गते धनुषाको ढल्केवर चोकमा हक्की खेलाडीले प्रहार गरेको बल लागेर आँखामा गम्भिर चोट लागेका स्थानीय रामभरोस महतोसँग पीडक पक्षले प्रहरीसमक्ष सहमति गरे— ‘उपचार गराइदिन्छु ।’ अतिव्यस्त चोकको सडकमा हक्की अभ्यास गर्ने खेलाडी थिइन्, मदन भण्डारी स्पोर्टस् एकेडेमी टिमका १४ बर्षीया जागृति यादव ।

पीडितले प्रहरीमा उपचार र क्षतिपूर्तीका लागि निवेदन दिएपछि खेलाडीका नेता अर्थात मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्फबाट सचिवालय सदस्य नन्दु काउचाले प्रहरीसमक्ष उपचार गराइदिने सहमति गरे । त्यो सहमतिको साक्षीमा हस्ताक्षर गरेका छन्, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतो । तर पीडित पक्षसँग सहमति गरेका एकेडेमीका पदाधिकारीहरुले विश्वास घात गर्दा देब्रे आँखा गुमाएका ५१ बर्षीय रामभरोसको अहिले बिल्लीबाठ भएको छ । अहिले एउटा आँखाले मात्रै तिर्मिराएर हेर्न सकिरहेका उनी न्यायका लागि भौतारिरहेका छन् ।

ढल्केवर, जनकपुर, लाहानदेखि काठमाडौंको आँखा अस्पतालसम्म धाएका रामभरोसले आँखाको उपचारमा ४० हजारभन्दा बढी खर्चिसकेका छन् । उनले उपचारका लागि पुगेका सबै अस्पतालका चिकित्सकले दिएको एउटै जवाफ हो— ‘तपाइको आँखाको ज्योती फर्काउन सकिन्न । आँखामा लेन्स हाल्नै नसकिने गरी क्षति भएको छ ।’ तर रामभरोसले उपचारका लागि हालसम्म जम्माजम्मी ८ हजार रुपैया पाएका छन् । ‘त्यति नै पैसा दिएर उहाँहरु पन्छिरह्नु भएको छ । मलाई क्षतिपूर्ती पनि चाहिँदैन । मेरो आँखा पहिलाको जस्तै बनाइदेओस्,’ रामभरोस भन्छन् ‘हैन भने, मेरो आँखा फुटाउनेलाई कानून बमोजिमको कारवाही हुनुपर्छ । कानूनले तोके बमोजिमको क्षतिपूर्ती तिनुपर्छ । उनीहरुलाई सडकमा हक्की खेल्ने अधिकार कसले दियो ?’
खेलाडीहरु गत फाल्गुन १४ गतेदेखि धनुषाको महेन्द्रनगरमा सञ्चालन भएको प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगितामा सहभागीता जनाउन आएका थिए । ती खेलाडीहरु ढल्केवरको श्रीराम होटलमा बसेका थिए । मदन भण्डारी स्पोटस् एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।

यस्तो छ घटनाः
गत फाल्गुन ११ गते शुक्रवार बिहान ६ बजे अन्यदिन जस्तै रामभरोस दुध पु¥याउन निस्केका थिए । साइकल डो¥याउँदै हिँडेका उनलाई ढल्केवरस्थित एक होटलको अगाडी अभ्यास गरिरहेका हक्की खेलाडीले प्रहार गरेको बल देब्र आँखामा जोडले लाग्यो । उनको आँखाबाट रगतै निस्कियो । ‘एकछिन् त होसै हरायो । त्यतिबेला त म बाँच्दिन कि जसो लाग्या थियो,’ घटनास्थलको अवस्था सम्झिदैं आँखा रसाएका रामभरोसले भने ।

आँखाबाट रगत निस्केपछि उनी आफूलाई हस्पिटल लग्न हारगुहार गरे । खेलाडी टिमका व्यक्तिले उनलाई ढल्केवरस्थित आँखा अस्पताल पु¥याए । चिकित्सकले उनलाई त्यहाँबाट लहान आँखा अस्पतालका लागि रिफर गरिदियो । तिनै व्यक्तिले रामभरोसलाई मोटरसाइकलमै लहान पु¥याए । त्यहाँका चिकित्सकले आँखा पुरै सुनिसकेकोले तत्काल केही औषधि दिएर बिहानपल्ट आउन सुझाए । अर्कोदिन पुगेका रामभरोसलाई डाक्टरले चेकजाँचपछि दिएको जवाफले उनी त्यहाँ केही बोल्नै सकेनन् । त्यतिबेला लहानका डाक्टरले भनेको रिपोर्ट सुनाउँदै रामभरोसले भने, ‘आँखा ड्यामेज भयो । यो आँखाले हेर्न सक्नुहुन्न । यसको उपचार सम्भव छैन ।’

त्यसपछि रामभरोसले खेलाडीलाई कारवाही गरी आफूलाई क्षतिपूर्ति दिलाइ दिन इलाका प्रहरी कार्यालय ढल्केवरमा जाहेरी दिए । जाहेरीपछि प्रहरीमा पुगेका मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यसहितका टोलीले ठुलो अस्पतालको ढाड्स दिँदै उपचार गराइदिने लिखित सहमति गरे ।

आचार्यले तत्काल पाँचहजार रुपैया थमाएर ठुलो हस्पिटल भन्दै काठमाडौंको नेपाल नेशनल हस्पिटलमा जचाउन सुझाव दिए । रामभरोस एकजना साथी लिएर काठमाडौं पुगे । ‘ध्रुव सरले भनेकै अस्पतालमा जचाए । चिकित्सकले एक सातामा आउन भन्यो । अर्कोपटक पुगेर डाक्टरले जाँच्दा आँखाको ज्योती फर्काउन नसकिने जवाफ दिनुभयो,’ त्यहाँको रिपोर्टपछि निराश बनेका रामभरोस भन्छन् ‘काठमाडौंमा गएर ध्रुव सरलाई कयौंपटक फोन गरे । तर उहाँ प्रत्यक्ष भेट्न मान्नु भएन । अहिले आएर उल्टोपुल्टो कुरा गरिरहनुभएको छ । विश्वासमा सहमति गरेको थिएँ । मदन भण्डारीको नाममा उहाँहरूले विश्वास लुट्यो ।’

तिलगंगाको अस्पतालमा आँखाको ठुलो डाक्टर हुन्छ भनेर सुनेका रामभरोस त्यहाँ पनि गए । तर त्यहाँको चिकित्सकले दिएको रिपोर्ट पनि फरक भएन । आँखा सुम्सुमाउँदै रामभरोसले भने ‘अब यो आँखाबाट हेर्न सक्छु भनेर आस मरिसक्यो । संसार देखाइदिने एउटा आँखा उनीहरुले (खेलाडीहरु) ख्यालख्याल लुटे ।’

यस्तो छ कानून
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १४ कुटपीट वा अङ्गभङ्गसम्बन्धी कसुर अन्तर्गत १९१ नम्बरको बुँदामा कुटपिट गर्न नहुने सम्बन्धी भएको व्यवस्थामा कसैले कसैलाई कुटपिट गर्न नहुने उल्लेख छ । त्यसैको दफा २ मा कसैले कसैलाई कुनै किसिमको शारिरिक पीडा पु¥याएमा निजले कुटपिट गरेको मानिने स्पष्ट लेखिएको छ । त्यसको दफा ३ मा यस्ता कसुर गर्ने वा गराउने व्यक्तिलाई तीनवर्षसम्म कैद वा तीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
परिच्छेद १४ कै १९२ नम्बरको बुँदामा अङ्गभङ्ग गर्न नहुने सम्बन्धी भएको व्यवस्थाको दफा १ मा कसैले कसैको अङ्गभङ्ग गर्न वा गराउन हुँदैन भनेर उल्लेख छ । त्यसको दफा २ मा कसैले कसैलाई जानीजानी कुटपिट गर्दा आँखाको हेर्ने शक्तिहीन गरी वा आँखा फोरी दृष्टिबिहिन बनाइदिएमा अङ्गभङ्गको कसुर गरेको मानिने भनेर लेखिएको छ । दफा (३)मा कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि सोही कामको परिणाम स्वरुप पछि उपदफा (२) बमोजिमको परिणाम निस्केमा पनि अङ्गभङ्ग भएको मानिने उल्लेख छ ।

त्यसको दफा (४) मा त्यस्ता कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने स्पष्ट व्यवस्था गरिएको छ । त्यसैको दफा (५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै किसिमको काम दिने एउटाभन्दा बढी अङ्ग हुनेमा त्यसमध्ये एउटा अङ्गमात्र बेकम्मा पारी दिएको भए सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ र अङ्गभङ्ग भएको खत निको भई कामलाग्ने भएमा तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साह पीडित पक्षसँग गरेको सहमति कार्यान्वयन नगरे पीडकलाई झिकाएर मुद्दा चलाउने बताउँछन् । ‘पहिला सहमति गरेकाहरुसँग बुझ्दैछु । सहमतिबाट पछि हटे कानुन बमोजिम हुन्छ,’ प्रहरी निरीक्षक साह भन्छन् ।

परिवार पाल्न सकस
मिथिला नगरपालिका–६ का रामभरोसको आर्थिक अवस्था निकै कमजोर छ । घर बनाएजतिको घडेरी मात्रै रहेका उनी रङ्गपेन्टको काम गरेर दैनिक गुजारा गरिरहेका थिए । तीनवर्ष अघि छोरीको बिबाह गर्दा उनलाई ९ लाख रुपैया ऋण लागेको छ । ती सबै पैसा उनले मिटरब्याजमा उठाएका छन् । आर्थिक विपन्नताको चपेटामा परेका उनीमाथि बज्रपात परेको छ । फागुन ११ गतेको बिहानीमा उनको एउटा आँखाको दृष्टिलाई अँध्यारो बनाइदिएको छ । ‘अहिले घर परिवारको आर्थिक अवस्था तहसनहस भएको छ । दुईमहिनादेखि चाम दाल सबै उधारो ल्याएर पेट पाली रहेको छु । अब धान्न सकिने अवस्था छैन,’ भावह्लि बनेका रामभरोसले दुखेसो पोखे ।

यस्तो अवस्थामा कसैले काम पनि दिन नमानेको उनी बताउँछन् । ‘हिँडनमा पनि कठिनाइ हुन्छ । एउटा आँखाले हेर्ने बानी छैन । आँखाले धोका दिइरहेको छ । कसैले काम पनि दिइरहेका छैनन्, मल्लिन अनुहारमा देखिएका उनले भने ‘अब हिम्मत टुटिरहेको छ ।’

रामभरोसको घरमा अहिले श्रीमति र दुई छोरा छन् । उनी घरमा कमाउने एक्लो पिलर थिए । उनको जेठो छोरा रविन यसैवर्ष १२ कक्षा पास गरेका छन् । कान्छो सुरज १० कक्षामा सरकारीमा पढिरहेका छन् । ‘पैसाको कारण जेठो छोराको पढाइ रुक्यो । छोरोलाई जसरी पनि ब्याचलर पढाउँछु भनेको थिएँ । अहिलेको अवस्थाले बर्बाद बनाइदियो । सोँचले राति निन्द्रा पनि आउँदैन । चैनले सुत्न पनि सकिरहेको छुँइन्,’ आँशु झार्दै रामभरोसले भने ।

यता पीडितसँग सहमति गरेका मदन भण्डारी स्पोटस् एकेडेमीका सचिवालय सदस्य नन्दु काउचाले उल्लेख गराएको नम्बरमा सम्पर्क हुन सकेन । त्यही सहमतिको साक्षीमा हस्ताक्षर गरेका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले घटनाको विषयमा अनभिज्ञता प्रकट गरे । ‘घटना कहाँ र कसरी भएको हो भन्ने विषय अझै बुझिसकेको छुइन । मैले सत्यतथ्य बुझ्नुपर्छ । खेलाडी हाम्रो आयोजक टिमको भएपनि त्यसको जिम्मा बाबुराम सरको थियो । म त्यो खेलाडीलाई चिन्दिन पनि,’ गैरजिम्मेवार शैलीमा प्रतिक्रिया दिएका आचार्यले भने ‘तपाई बाबुराम सरसँग बुझ्नुस्–के हो कुरो ? यो घटनालाई कानुनभन्दा पनि व्यवहारिकमा मिलाउनुपर्छ भन्ने मेरो मान्यता हो । क्षतिपूर्ती जायज माग हो । हाम्रो केन्द्रिय कमिटी यही महिनाभित्र बस्ने कुरा छ । यस विषयमा गम्भिर छलफल हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय